बागलुङ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बागलुङबाट प्रवासमा गएका नेपालीहरुले सहयोग गरेका छन् ।
काठेखोला गाउँपालिकाको समन्वयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पाँच लाख सहयोग जम्मा गरिएको छ ।
बिहुँकोट अन्तर्राष्ट्रिय समाज, बिहुँकोटले रु. पाँच लाख सहयोग गरिएको हो । भोटेकोशी नदीमा भदौ १० गते आएको हिमबाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सहानुभूति प्रकट गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो ।
बिहुँकोट अन्तर्राष्ट्रिय समाजले काठेखोला गाउँपालिकामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी रु. पाँच लाख सहयोग गरेको हो । समाजका उपाध्यक्ष महेन्द्रप्रसाद कँडेल, सह–कोषाध्यक्ष हरि सापकोटा र सदस्य कृष्णप्रसाद कँडेलले गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष राजु थापा र उपाध्यक्ष तेजबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत हस्तान्तरण गरिएको हो । विपद्को समयमा बाढी प्रभावितको उद्धार तथा राहतका लागि सहयोग जुटाइएको हो ।