• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

विश्वकर्मा पूजा : औजार पूजा गरेर मात्र हुँदैन, श्रमको सम्मान पनि गरौँ

  • २०८३ आश्विन १, बिहीबार

सम्पादकीय । आज असोज १ गते । विश्वकर्मा पूजा । कलकारखाना, वर्कसप, उद्योग, निर्माणस्थलदेखि सवारीसाधन र विभिन्न मेसिनरी उपकरणसम्म पूजा गर्ने दिन । औजार सफा गरिन्छन्, फूलमाला चढाइन्छ, अक्षता र अबिर लगाइन्छ, प्रसाद बाँडिन्छ । कतै मेसिन बन्द हुन्छन्, कतै पूजा सकेपछि पुनः काम सुरु हुन्छ । वर्षभरि आफूलाई साथ दिएका औजार र प्रविधिप्रति कृतज्ञता व्यक्त गर्ने यो परम्परा आफैँमा अर्थपूर्ण छ । तर प्रश्न उठ्छ,—विश्वकर्माको पूजा औजारमा फूल चढाएर मात्र पूरा हुन्छ त ? विश्वकर्मालाई हिन्दू परम्परामा शिल्प, वास्तु, निर्माण र सिर्जनाका देवताका रूपमा मानिन्छ । त्यसैले विश्वकर्मा पूजाको मूल भाव केवल कुनै एउटा मेसिन, औजार वा कारखानाको पूजा गर्नु होइन । यो सिर्जनशीलता, सीप, श्रम र उत्पादनको सम्मान गर्ने संस्कृति पनि हो । मानिसले आफ्नो ज्ञान, सीप र श्रमबाट संसार निर्माण गर्छ । त्यस अर्थमा हरेक सिर्जनशील श्रमिक, कालिगढ, प्राविधिक, इन्जिनियर, किसान र उत्पादकको श्रमभित्र विश्वकर्माको भाव देख्न सकिन्छ । विश्वकर्मा पूजा मनाउँदै गर्दा हामीले यही मूल सन्देशलाई सम्झन आवश्यक छ । आज मेसिनको पूजा गर्ने समाजमा मेसिन चलाउने मजदुरको अवस्था कस्तो छ ? औजारलाई फूल चढाउने उद्योगले आफ्ना कामदारलाई उचित पारिश्रमिक दिएको छ कि छैन ? उत्पादन बढाउने कुरा गर्ने उद्योगले श्रमिकको सुरक्षा, सम्मान र सामाजिक सुरक्षाको जिम्मेवारी पूरा गरेको छ कि छैन ? सीप भएका युवालाई विदेश पठाएर देशमा सीपको अभाव भएको वास्तविकतालाई हामीले कहिले गम्भीरतापूर्वक हेर्ने ? यी प्रश्नहरू पनि विश्वकर्मा पूजाकै प्रश्न हुन् ।

नेपालमा उद्योग र उत्पादनको कुरा धेरै हुन्छ, तर उत्पादनको आधार श्रम र सीपलाई सम्मान गर्ने संस्कार अझै बलियो बन्न सकेको छैन । हामीलाई मेसिन चाहिन्छ, प्रविधि चाहिन्छ, उद्योग चाहिन्छ । तर त्यसलाई चलाउने दक्ष जनशक्ति चाहिँ सस्तो श्रमका लागि विदेश पठाइरहेका छौँ । एकातिर ‘समृद्ध नेपाल’को नारा छ, अर्कोतिर गाउँका युवाको हातमा सीपभन्दा बढी विदेश जाने टिकट छ । यो विरोधाभास अन्त्य नगरी विश्वकर्माको पूजा गर्नु केवल कर्मकाण्डमा सीमित हुने खतरा छ । विश्वकर्मा पूजा प्रविधिको सम्मान गर्ने अवसर पनि हो । आजको विश्वमा विकासको आधार केवल प्राकृतिक स्रोत होइन, ज्ञान, सीप, प्रविधि र नवप्रवर्तन हो । पुरानो औजारलाई नयाँ प्रविधिले विस्थापित गरिरहेको छ । कृत्रिम बुद्धिमत्ता, स्वचालन, विद्युतीय सवारी, आधुनिक कृषि प्रविधि र डिजिटल उत्पादनले काम गर्ने तरिका बदलिरहेका छन् ।

यस्तो समयमा विश्वकर्मा पूजाको अर्थ अझ व्यापक बनेको छ,—हामीले आफ्ना औजार मात्र होइन, आफ्नो सीप र सोचलाई पनि अद्यावधिक गर्नुपर्छ । विश्वकर्मा पूजा गर्ने दिन कारखाना बन्द गरेर पूजा गरिन्छ । त्यो एक दिनको विश्राम उपयोगी हुन सक्छ । तर भोलिपल्टदेखि काममा फर्किँदा कार्यस्थल सुरक्षित बनाउने, मेसिनको नियमित मर्मत गर्ने, दुर्घटना रोक्ने, श्रमिकको सम्मान गर्ने र उत्पादनको गुणस्तर बढाउने संकल्प गरिए मात्र पूजाको सार्थकता देखिन्छ । औजारले आफैँ उत्पादन गर्दैन । मेसिनले आफैँ विकास गर्दैन । त्यसका पछाडि मानिसको ज्ञान, श्रम, सीप र पसिना हुन्छ । त्यसैले औजारको पूजा गर्दा श्रमको अपमान हुन हुँदैन । मेसिनको सम्मान गर्दा मजदुर बिर्सिनु हुँदैन । प्रविधिको पूजा गर्दा मानवीय सीपलाई कमजोर बनाउनु हुँदैन । आज विश्वकर्माको पूजा गरौँ । आफ्ना औजार, मेसिन र प्रविधिप्रति कृतज्ञ बनौँ । तर त्यसभन्दा ठूलो कुरा, ती औजार चलाउने हातहरूको सम्मान गरौँ । श्रमलाई प्रतिष्ठा दिऔँ, सीपलाई अवसर दिऔँ, उत्पादनलाई प्राथमिकता दिऔँ र प्रविधिलाई विकासको साधन बनाऔँ । विश्वकर्मा पूजा केवल मेसिनमा टीका लगाउने पर्व होइन; श्रम, सीप, सिर्जना र उत्पादनलाई सम्मान गर्ने दिन बनोस् । यही नै आजको विश्वकर्मा पूजाको वास्तविक सन्देश हो ।

  • २०८३ आश्विन १, बिहीबार