बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो ।
यसअघि ६१ जना मिर्गौलापीडितलाई सेवा दिँदै आएको अस्पतालले चार वटा उपकरण थप गरेपछि अब ७१ जनालाई डायलाइसिस सेवा दिन थालेको छ । क्षमता विस्तारसँगै अस्पतालमा डायलाइसिस उपकरणको संख्या १२ पुगेको छ । डायलाइसिस सेवाका लागि पालो कुर्ने बिरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवनको क्षमता विस्तार गरी सेवा थप गरिएको डायलाइसिस शाखाप्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरुवा रोग लागेका मिर्गौलाका बिरामीका लागि छुट्टै शैयाको समेत व्यवस्था गरिएको छ । यसअघि छुट्टै शैया नहुँदा अन्य बिरामीमा समेत सरुवा रोग सर्न सक्ने जोखिम रहेको थियो । मिर्गौलाले काम गर्न छाडेका बिरामीले स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने हिताङले बताउनुभयो । सेवा लिने बिरामीको संख्या बढ्दै गएपछि क्षमता विस्तार गर्नु चुनौतीपूर्ण भए पनि अस्पतालको अर्को भवनमा सेवा स्थानान्तरण गरी पाँच महिनादेखि भवन विस्तारको काम सम्पन्न गरेर क्षमता विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।
डायलाइसिस सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षको रु. २० लाख र अस्पताल व्यवस्थापन समितिको रु. २० लाख गरी रु. ४० लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त रकमबाट भवनको एक तला थप गर्नुका साथै आवश्यक चार वटा डायलाइसिस उपकरण खरिद गरिएको हो ।
“डायलाइसिस विभागको भुइँतलामा एक तला थप गरी आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा विस्तार गरिएको हो”, अध्यक्ष शर्माले भन्नुभयो, “लामो समयदेखि पालो कुरेर पोखरादेखि काठमाडौंसम्म पुगेर डायलाइसिस गराउँदै आएका मिर्गौला फेल भएका १० जना सेवाग्राहीलाई थप सेवा दिन थालिएको छ ।”
उहाँका अनुसार प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट भवन तथा पूर्वाधार निर्माण गरिएको हो भने अस्पताल व्यवस्थापन समितिको बजेटबाट डायलाइसिस उपकरण खरिद गरिएको हो । सेवा विस्तारपछि बागलुङसहित आसपासका जिल्लाका मिर्गौलाका बिरामीलाई नियमित डायलाइसिसका लागि पोखरा तथा काठमाडौं जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । अस्पतालमा डायलाइसिस सेवा लिनका लागि अझै पालो पर्खनेको संख्या भने रहेको छ ।