बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
असोज ११ गते आइतबार निसीखोलामा आएको बाढीबाट पीडित बनेका स्थानीयलाई निसीखोला गाउँपालिकाले नगद तथा खाद्यन्न राहत उपलव्ध गराएको हो ।
गाउँपालिका भित्र मानवीय तथा भौतिक क्षति पु¥याएपछि गाउँपालिकाले तत्कालै नगद तथा खाद्यन्न राहत उपलव्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीले जानकारी दिनुभयो ।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो ।
गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति रु. ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु. ३० हजार र जोखिममा रहेका परिवारलाई रु. १० हजारका दरले राहत उपलब्ध गराइएको छ ।
पाँच जना मृतकको परिवारलाई रु. ५० हजारका नगद राहत उपलप्ब गराइएको थियो भने घरमा क्षति भएका २४ परिवारलाई रु. ३० हजारका दरले र घरमा आंशिक क्षति भएका २१ परिवारलाई रु. १० हजारका दरले सहयोग प्रदान गरिएको छ ।
निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ भने २१ जनाको घर उच्च जोखिममा रहेको छ । साथै चामाल तथा त्रिपाल समेत प्रदान गरिएको छ ।