बागलुङ । असोज ९ गतेदेखि ११ गते सम्म आएको अविरल वर्षाका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ । विपद्मा बागलुङबाट निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको तथ्याङ्क अनुसार बाढी पहिरोले बागलुङमा ६१ घरगोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ ।
बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता हुनुभएको छ । दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय समेत बगाएको छ । बाढी पहिरोका कारण तीन वटा झोलुङ्गे पुल बगाएको र दुई वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट बागलुङ नेपालमै प्रभावित जिल्लाको रुपमा परेको बताउनुभयो । आचार्यका अनुसार २ वटा जलविद्युतमा आंशिक क्षति, एक वटा विद्यालय, एक रिसोर्ट र एक कृषि फर्ममा क्षति पुगेको छ । बाढी पहिरोका कारण २५६ वटा पशु चौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् ।
निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चार वटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ । निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याएको प्रशासनले जनाएको छ ।
तमानखोला गाउँपालिका–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड गाउँपालिका–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नम्बर ८ भिमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।
ढोरपाटन नगरपालिका–७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यस्तै गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ । काठेखोला गाउँपालिकाका वडा नं. १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ । बाढी पहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन् । तमानखोलाको पहिरोमा एक महिला बेपत्ता अझै वेपत्ता भएको प्रहरी प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
