• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बाढीपहिरोबाट बागलुङका १ हजारभन्दा बढी बालबालिका प्रभावित

बागलुङ । ‘बोर्डिङमा बाढी पसेर तलको पिलर देखिएको छ, अब बनेपछि पढ्ने होला ।’ यो भनाइ बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ को झिवाखोला स्थित बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मीको हो ।

असोज ११ गते निसीखोलामा आएको बाढीले बगर बनाएको आफ्नो घर भएको स्थान हेरेर टोलाइरहेका सन्दीपमा देखिएको यो अन्योल यतिबेला बागलुङका हजारौँ बालबालिकामा देखिएको छ ।

आँखै अगाडि घर, विद्यालय, सडक र विभिन्न संरचना बाढीले बगाएको, पहिरोले पुरेको देखेका यहाँका बालबालिकामा अझै पनि खोला बढ्छ कि, पहिरो खस्छ कि भन्ने त्रास कायमै छ ।

असोज ८ गतेदेखि ११ गतेसम्म आएको वर्षाका कारण बागलुङका ४ स्थानीय तहका हजारभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिकामा बाढी, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा पहिरोका कारण १ हजार २ सय ९७ जना बालबालिका प्रभावित भएका हुन् ।

पहिरोबाट ताराखोला गाउँपालिकाका ५ वटा विद्यालयमा क्षति पुगेको छ । यहाँका ८ सय ४५ जना बालबालिका प्रभावित भएका छन् ।

पहिरोका कारण ताराखोला गाउँपालिका वडा नम्बर ५ का ३ वटा र वडा नम्बर ४ का २ वटा विद्यालयका भौतिक संरचनामा क्षति पुगेको गाउँपालिका सहायक शिक्षा अधिकृत युवराज शर्माले जानकारी दिनुभयो ।

२ सय ५० जना बालबालिकाले अध्ययन गर्दै आएको वडा नम्बर ५ को दुर्गाभवानी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्णरूपमा पहिरोमा पुरिएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको छ । त्यसैगरी सोही वडाको ७५ जना बालबालिकाले अध्ययन गर्दै आएको त्रिशूली प्राथमिक विद्यालय, ४५ जना बालबालिकाले अध्ययन गर्दै आएको लावाङ प्राथमिक विद्यालयमा पहिरोले क्षति पु¥याएको छ ।

वडा नम्बर ४ को ५५ जना बालबालिकाले अध्ययन गर्दै आएको युवावर्षा प्राथमिक विद्यालय र ४ सय २० जना बालबालिकाले अध्ययन गर्दै आएको नेपाल माध्यमिक विद्यालयमा पहिरोले क्षति पु¥याएको शर्माको भनाइ छ ।

पहिरोले क्षति पुगेका ५ मध्ये २ विद्यालयमा वैकल्पिक स्थानको खोजी गरेर पठनपाठन सुरु गरेको भए पनि नेपाल माध्यमिक विद्यालय, लावाङ प्राथमिक विद्यालय र दुर्गाभवानी माध्यमिक विद्यालयमा भने पठनपाठन सुरु गर्न नसकेको शर्माले बताउनुभयो ।

ठाउँठाउँमा गएको पहिरोका कारण विद्यालयसम्म पुग्ने सडक र बाटो समेत बगाएको उहाँको भनाइ छ । विद्यालयका शौचालय, खानेपानी र कक्षाकोठामा पहिरोले क्षति पु¥याएको हुनाले तत्काल कसरी सञ्चालन गर्ने भन्ने विषय अन्योल रहेको उहाँले बताउनुभयो । पहिरोका कारण गाउँपालिकाको विद्युत् र नेटवर्कमा क्षति पुग्दा समयमै सूचना र सञ्चार हुन नसक्दा अझै पनि क्षतिको विवरण सङ्कलन गरिरहेको उहाँको भनाइ छ ।

विद्यालय र गाउँघर पहिरोको चपेटामा परेको देखेका बालबालिका अझै पनि त्रासमा रहेको भन्दै उहाँले चर्किएका, भत्किएका कक्षाकोठामा पठनपाठन गराउँदा मानसिक त्रास बढ्न सक्ने खतरा रहेको शर्माले बताउनुभयो ।

त्यसैगरी बाढीका कारण निसीखोला गाउँपालिका वडा नम्बर ४ को झिवाखोला स्थित एउटै विद्यालयका ३ सय ७० बालबालिका प्रभावित बनेका छन् । बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुल निसीखोलामा आएको बाढीले क्षति पु¥याउँदा यहाँ अध्ययन गर्दै आएका बालबालिका प्रभावित बनेका हुन् ।

बाढीले विद्यालयको संरचनामा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण क्षति पुगेको विद्यालयको भवन तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नभए पनि वैकल्पिक व्यवस्थापन गरेर छिट्टै कक्षा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन हमालले बताउनुभयो ।

विद्यालयको भौतिक संरचना निर्माणभन्दा पनि झिवाखोलाको बजार क्षेत्रमै रहेको विद्यालय बाढीले क्षतविक्षत बनाएको आफ्नै आँखाले देखेका बालबालिकाको मनमा बसेको त्रास हटाउने चुनौती ठूलो रहेको हमालको भनाइ छ । अभिभावक र विद्यालय परिवार मिलेर बालबालिकाको मनोबल उच्च बनाएर पुनः विद्यालय फर्किने वातावरण तयार गर्ने उहाँको भनाइ छ ।

त्यसैगरी हावाहुरी र पहिरोका कारण बडिगाड गाउँपालिकाका २ विद्यालयका ७० जना बालबालिका प्रभावित भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ स्थित ३० बालबालिकाले अध्ययन गर्दै आएको भिरकटेराताल प्राथमिक विद्यालय र वडा नम्बर ३ सिसाखानीको ४० जना बालबालिकाले अध्ययन गर्दै आएको कञ्चनादेवी प्राथमिक विद्यालयमा हावा र पहिरोले क्षति पु¥याएको छ ।

तत्कालका लागि बालबालिकालाई स्थानीय घर र सामुदायिक भवनमा व्यवस्थापन गरेर पठनपाठन गराउने तयारी गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले जानकारी दिनुभयो । पहिरोको जोखिममा रहेका उक्त विद्यालय तत्काल पठनपाठन गराउने अवस्था नरहेको उहाँको भनाइ छ ।

पहिरोका कारण तमानखोला गाउँपालिकाको एक बालविकास केन्द्रमा पनि क्षति पुगेको छ वडा नम्बर ४ को सन्तर बालविकास केन्द्रको भवनमा पहिरोले क्षति पु¥याउँदा यहाँका ११ जना बालबालिका प्रभावित बनेका छन् । भवन अझै पनि पहिरोको जोखिममै रहेकाले बालबालिकालाई तत्काल उक्त स्थानमा लैजाने अवस्था नभएको गाउँपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन मुना विश्वकर्माले बताउनुभयो ।