• २०८३ आश्विन २४, शनिबार
  • 2026 October 10, Saturday

पत्रकार महासंघमा रु. १० लाखको ‘लेखनवृत्ति’ कोष स्थापना

  • २०८३ आश्विन २४, शनिबार

बागलुङ । नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी र विश्लेषणात्मक समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ । पहिलो चरणको अभियानबाट रु. १० लाखको लक्ष्य पूरा गरी कोष सञ्चालनमा ल्याइएको शाखाले जनाएको छ ।

विसं २०८१ मङ्सिर २८ गते भएको शाखाको आठौँ अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको पहिलो बैठकले पत्रकार लेखनवृत्ति कोष स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम विसं २०८१ माघ २६ मा औपचारिक समारोहमार्फत लेखनवृत्ति कोषको घोषणा गरिएको थियो । शाखाका पदाधिकारी र सदस्यहरुबाट योगदान रकम जम्मा गरी सुरु गरिएको उक्त कोषमा स्वतःस्फूर्त रुपमा अन्य दाताहरुको पनि सहयोग जुटेको थियो ।

देशविदेशमा रहनुभएका विभिन्न व्यक्ति र शुभेच्छुक सङ्घसंस्थाहरुबाट कोषमा सहयोग प्राप्त भएको हो । शाखाका सचिव नारायण रिजालले कोषबाट आउने ब्याज रकमबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई रु. ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने बताउनुभयो । कोष सञ्चालनका लागि कार्यविधि निर्माणको काम भइरहेकाले यथाशक्य चाँडो लेखनवृत्ति प्रदान गरिने उहाँको भनाइ छ । लेखनवृत्ति छनोटका लागि विज्ञ सम्मिलित समिति गठन हुने र सोही समितिले गरेको निर्णयका आधारमा लेखनवृत्ति प्रदान गरिने सचिव रिजालले बताउनुभयो ।

औपचारिक समारोह आयोजना गरी लेखनवृत्ति प्रदान गरिने महासङ्घले जनाएको छ । सोही अवसरमा कोषका दाताहरुलाई सम्मान गरिने भएको छ । सहयोगदाताको नामावली ताम्रापत्रमासमेत अङ्कित गरिने जनाइएको छ । शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रकारिता क्षेत्रको गुणात्मक विकास सँगसँगै खोज पत्रकारिताप्रति आकर्षण बढाउने उद्देश्यले लेखनवृत्ति कोषको अवधारणा ल्याइएको बताउनुभयो । “सार्वजनिक सरोकारका विषयमा प्रभावशाली रिर्पोटिङ गर्ने पत्रकारलाई लक्ष्य गरी लेखनवृत्ति कोषको स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट पत्रकारहरुबीच खोजी रिर्पोटिङमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत हुनेछ ।”

पहिलो चरणमा रु. १० लाखको कोष स्थापना गरिएपनि कोष वृद्धिको अभियान भने निरन्तर चलिरहने उहाँको भनाइ छ । पत्रकारको पेशागत हकहित र क्षमता अभिवृद्धिमा महासङ्घ केन्द्रित रहेको अध्यक्ष थापाले बताउनुभयो ।

  • २०८३ आश्विन २४, शनिबार