बागलुङ ।धौलागिरि–गण्डकी यातायात प्रालिले सुविधायुक्त बस सेवा विस्तार गरेको छ । बेनी–बागलुङ– कुश्मादेखि सुनौलीसम्मको यात्रालाई सहज, सुरक्षित र सुविधायुक्त बनाउने उद्देश्यसहित स्तरीय बस सेवा सञ्चालनमा आएको छ ।
धौलागिरि–गण्डकी यातायात प्रालिले बागलुङ हुँदै सुनौली तथा बेनीदेखि सुनौलीसम्म नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । बसको शुभारम्भ वडा नम्बर तिनका वडा अध्यक्ष सनि केसीले गर्नुभएको थियो । उहाँले बसमा सेवामा गुणस्तर रहेको बताउँदै आगामी दिनमा थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुनौली सम्म यसअघि स्तरीय बसको अभाव खड्किएको भन्दै तिहारको मुखमा बस सेवा विस्तार गरेको छ ।

धौलागिरि–गण्डकी यातायात प्रा.लि.का अध्यक्ष उमेश केसीका अनुसार यात्रुको सुविधालाई ध्यानमा राख्दै नयाँ बस सेवा सञ्चालनमा ल्याइएको हो । यस सेवामार्फत बागलुङ तथा बेनी क्षेत्रका यात्रुले सुनौलीसम्म सहज रूपमा यात्रा गर्न सक्नेछन् । सञ्चालनमा आएको बसमा २÷१ सिटिङ व्यवस्था रहेको छ । बसमा कुल २९ वटा सिट रहेका छन् । २÷१ सिटिङ व्यवस्थाले यात्रुलाई आरामदायी यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।
नयाँ बस सेवाका लागि बागलुङदेखि सुनौलीसम्मको भाडादर १ हजार ९ सय ५० निर्धारण गरिएको छ । त्यसैगरी बेनीदेखि सुनौलीसम्म यात्रा गर्ने यात्रुले २ हजार १ सय भाडा तिर्नुपर्ने प्रालीका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
यातायात सेवा विस्तारसँगै यात्रुले सहज र सुविधाजनक यात्रा गर्न पाउने विश्वास यातायात व्यवसायीले लिएका छन् । धौलागिरि–गण्डकी यातायात प्रा.लि.ले सञ्चालनमा ल्याएको यस सेवाले बागलुङ, बेनी हुँदै सुनौलीसम्मको यातायात सम्पर्कलाई थप सहज बनाउने प्रालिले जनाएको छ ।