• २०८३ कार्तिक २५, मंगलवार
  • 2026 November 10, Tuesday

देउसीभैलोमा आधुनिकताको छाया, मौलिक संस्कृति ओझेलमा

  • २०८३ कार्तिक २५, मंगलवार

बागलुङ । तिहार भन्नासाथ मौलिक मादल र खैँजडीको तालमा गुञ्जिने देउसीभैलो, मौलिक लोकभाका र सामूहिक नाचगानको सम्झना आउँछ । घरघरमा पुगेर देउसीभैलो खेल्ने, आशिष दिने र दक्षिणा संकलन गर्ने परम्पराले तिहारलाई थप उल्लासमय बनाउँथ्यो । तर, समयसँगै देउसीभैलोको स्वरूप फेरिएको छ । परम्परागत बाजा र लोकभाकाको ठाउँ आधुनिक गीत तथा साउण्ड सिस्टमले लिन थालेपछि मौलिक संस्कृति ओझेलमा पर्दै गएको छ ।

तिहार सुरु भएसँगै बागलुङ बजारका चोक र बस्तीमा देउसीभैलोको चहलपहल बढेको छ । यस वर्ष शनिबारदेखि नै देउसीभैलो सुरु भएको बजारमा ठूला साउण्ड सिस्टममा बज्ने गीत र आधुनिक नाचले रौनक थपेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाइरहेका छन् । तर, बजारमा बढेको यो रौनकमा परम्परागत देउसीभैलोको झल्को भने कमै देखिन्छ ।

कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने गरिन्थ्यो । गीतमार्फत गाउँघरका सुखदुःख, सामाजिक अवस्था र जीवनका कथाव्यथा प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच क्रमशः हराउँदै गएका छन् । रेकर्ड गरिएका आधुनिक गीतमा नाच्ने र ठूलो आवाजमा सङ्गीत बजाउने प्रवृत्ति बढेपछि देउसीभैलोको परम्परागत शैली हराउन थालेको हो ।
स्थानीय प्रेम श्रेष्ठले पछिल्लो समय देउसीभैलोको मौलिकतामा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताले मौलिक कला संस्कृतिको संरक्षणमा पर्याप्त चासो नदिँदा परम्परागत देउसीभैलोको पहिचान कमजोर बनेको उहाँको भनाइ छ । “पहिले मादल, बाँसुरी र खैँजडी बजाएर गीतमार्फत कथा, व्यथा र सामाजिक सन्देश सुनाइन्थ्यो । अहिले देउसीभैलोमा आधुनिकता र विकृति मिसिँदै गएको छ”, श्रेष्ठले भन्नुभयो ।

आधुनिक प्रविधिको विकास र देखासिकीले देउसीभैलोको मौलिकता हराउँदै गएको बागलुङ बजारका रबी प्रसाद शर्माले जानकारी दिनुभयो । तिहार र देउसीभैलो नेपाली समाजको सांस्कृतिक पहिचान भएकाले यसको मौलिक स्वरूप जोगाउनुपर्ने उहाँको भनाइ छ । युवा पुस्ताले परम्परागत गीत, सङ्गीत र नाचप्रति चासो नदेखाउँदा पश्चिमा शैली हाबी हुँदै गएको उहाँले बताउनुभयो ।

तर, सबै देउसीभैलो टोली आधुनिक शैलीमै सीमित छैनन् । केही समूहले पुराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयाससमेत गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको देखिएको छ ।

देउसीभैलो केवल मनोरञ्जन र दक्षिणा संकलन गर्ने माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति, भाषा र सामूहिक एकताको अभिव्यक्ति पनि हो । समयअनुसार यसको शैलीमा परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिक बाजा, भाका र नाचलाई संरक्षण गर्न नसकिए तिहारसँग जोडिएको सांस्कृतिक पहिचान नै कमजोर हुने चिन्ता बढेको छ ।

  • २०८३ कार्तिक २५, मंगलवार