बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनवाई वडा नम्बर २ दमेकमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको सहजीकरणमा पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने स्थानीयले बादरसंगै चितुवा र दुम्सी आतङ्क बढेको भन्दै क्षतिपूर्तीको माग गरेका छन् । स्थानीय गंगाधर सापकोटाले दुम्सी र चितुवाले उठिबास लगाएको बताउदै आफ्ना तीन वटा बाख्रा चितुवाले खादा समेत राहत र क्षतिपूर्ती नगरपालिकाबाट पाउन नसकेको गुनासो गर्नुभएको थियो । बसाइँसराइ गरेर गएपछि गाउँमा भएका घर जग्गा खाली हुने र झाडी पलाएपछि बाँदरसहित वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेको उनीहरुले गुनासो पोखे । नगरपालिकाले बसाइँसराइ रोकी गाउँमै बस्न वातावरण तयार गर्नु पर्नेमा उनले जोड दिए ।

स्थानीय नागरिकहरुलेदमेक आउने सडक राम्रो नभएको, खानेपानी राम्रो नभएको, प्रशासकीय भवन नबनेको, वडामा इन्टरनेट नहुँदा समस्या भएको लगायतका जिज्ञासा तथा गुनासा राखेका थिए । स्थानीय कृष्णप्रसाद शर्माले सडक मर्मतमा ध्यान दिनुपर्ने बताउनुभएको थियो भने अर्का स्थानीयले धनप्रसाद सुवेदीले मृगौलाको औषधी नपाएको गुनासो गर्नुभयो ।

स्थानीय मातृका प्रसाद शर्मा, रमेश परियार, नारायण प्रसाद सापकोटा, धन प्रसाद सुवेदी, अमर बहादुर परियार, दिपेन्द्र परियार, गुमा हमाल, दर्शना सापकोटा, संगम सापकोटा र बिक्रम थापा लगायतले नगरप्रमुख नर बहादुर पुन, उपप्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्न राखेका थिए । विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम लागु गरेर पठनपाठन सुरु गरे पनि अहिलेसम्म पुस्तक पाउन नसेकेको र बालविवाह नरोकिएको गुनासो गरेका थिए । घट्दो विद्यार्थी संख्याका कारण विद्यार्थी खाली हुँदै गएको बताएका थिए ।

नागरिकको प्रश्नको जवाफ दिँदै जैमिनी नगरप्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेयले जवाफ दिएका थिए । नगरप्रमुख पुनले नागरिकलाई दक्ष बनाउन तालिम दिइरहेको, कृषि एम्बुलेन्स सञ्चालन गरेको लगायतको जानकारी दिनुभएको छ । तालिम दिएको कुरा नागरिकले व्यवहारमा नल्याएको नगरप्रमुख पुनले बताउनुभयो । नागरिकका समस्यालाई समाधान गर्न नगरपालिका निरन्तर लागि रहेको भन्दै नागरिक पनि जिम्मेवार हुनु पर्नेमा उनले जोड दिनुभयो ।

उपप्रमुख हरिहर शर्माले नागरिकको समस्या समाधाननै पालिकाको पहिलो प्राथमिकता रहेको बताए । नागरिकको माग, आवश्यकता र चाहना अथाह भएको भन्दै सीमित स्रोत र साधनका बीच पूरा गर्ने गरि आफूहरु निरन्तर लागि रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेयले पालिकाले चालु आर्थिक वर्षको चौमासिकमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म १८ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा एक करोड ५५ लाख रुपैयाँभन्दा आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म १८ प्रतिशत मात्रै पूरा भएको उनको भनाइ छ ।

योजना कार्यान्वयन गर्ने समय बल्ल हुँदै गरेको भन्दै अहिलेसम्म ५१ वटा सम्झौता भएको र तीन वटा सम्पन्न गरेर फरफारक भइसकेको जानकारी दिनुभयो । यो अवधिमा १९९ जना बसाइँसराइ गरेर बाहिर गएको भन्दै ३ जना मात्रै जैमिनीमा आएको उनको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव नारायण रिजालले नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत, कोषाध्यक्ष खेमराज गौतमले आचारसंहिता प्रस्तुत गरेका थिए भने महासंघका सल्लाहकार तारानाथ आचार्यले कार्यक्रमको टिप्पणी गर्नुभएको थियो । कार्यक्रम जैमिनी नगरपालिका सुशासन समितिका संयोजक तथा जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेम सापकोटाको अध्यक्षता र पत्रकार महासंघका बागलुङका सह–सचिव डम्मर बुढामगरको सहजीकरणमा सम्पन्न भएको थियो ।