• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

एमालेको राष्ट्रिय भेला : के भेलाले एमालेको लय बदल्न सक्छ ?

  • २०८३ मंसिर ३, बुधबार

सम्पादकीय : नेकपा एमालेले आजदेखि काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । देशभरका करिब ३३ सय नेता तथा कार्यकर्ताको सहभागिता रहने भेलालाई पार्टीले आगामी स्थानीय निर्वाचनको तयारी र संगठन परिचालनको महत्वपूर्ण अवसरका रूपमा लिएको छ । पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने र नेतृत्वदेखि कार्यकर्तासम्म समान धारणा निर्माण गर्ने उद्देश्य भेलाको रहेको एमाले नेतृत्वको भनाइ छ । तर प्रश्न एउटै लयमा हिँड्ने मात्र होइन, एमालेको राजनीतिक दिशा र कार्यशैली नै बदल्नुपर्ने आवश्यकता हो कि होइन भन्ने हो । एमाले यतिबेला आफ्नो राजनीतिक इतिहासकै कठिन र चुनौतीपूर्ण मोडमा उभिएको छ । पछिल्लो निर्वाचनमा व्यहोरेको अप्रत्याशित पराजय, युवा पुस्तामा बढ्दो राजनीतिक वितृष्णा, नेतृत्वप्रतिको असन्तुष्टि र संगठनभित्रको आन्तरिक खिचातानीले पार्टीको जनाधार र भविष्यबारे गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा हजारौँ कार्यकर्ताको भेला गर्नु आफैँमा सकारात्मक भए पनि सहभागिताको संख्या र भाषणको ओजले मात्रै संगठनमा नयाँ उत्साह सिर्जना गर्न सक्दैन । महासचिव शंकर पोखरेलले राष्ट्रिय भेला नयाँ निर्णय गर्ने थलो नभई यसअघि भएका निर्णयको कार्यान्वयनमा एकरूपता ल्याउने मञ्च भएको बताएका छन् । तर पार्टीले गरेका निर्णय कार्यान्वयनमा किन समस्या आयो ? कार्यकर्ता र नेतृत्वबीच दूरी किन बढ्यो ? जनतामा पार्टीप्रतिको आकर्षण किन घट्यो ? यस्ता प्रश्नको वस्तुनिष्ठ समीक्षा नगरी एउटै लयमा हिँड्ने आग्रहले मात्रै पार्टीको संकट समाधान हुँदैन । एकरूपता आवश्यक छ, तर त्यो नेतृत्वको आदेशमा होइन, साझा बुझाइ र विश्वासमा आधारित हुनुपर्छ । एमालेका महासचिव स्वयंले विगतको पार्टी सञ्चालन र राज्यसत्ता सञ्चालनका कमजोरीको समीक्षा नगरी अघि बढ्न नसकिने स्वीकार गरेका छन् । यो स्वीकारोक्ति सकारात्मक छ । २०७४ सालमा शक्तिशाली वामपन्थी सरकार गठन हुँदा समेत जनमत विस्तार हुन नसक्नु र पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षाभन्दा निकै कमजोर परिणाम व्यहोर्नु सामान्य राजनीतिक घटना होइन । यसलाई क्षणिक धक्का वा बाह्य प्रभावको परिणाम भनेर मात्र बुझ्नु आत्मरति हुनेछ । जनताले किन विकल्प खोजे र आफ्नै नेतृत्वमा सरकार हुँदा पनि पार्टीप्रति विश्वास किन कायम रहन सकेन भन्ने प्रश्नको जवाफ नेतृत्वले दिन सक्नुपर्छ ।

एमालेको अर्को चुनौती नेतृत्व र पुस्तान्तरणसँग जोडिएको छ । लामो समयसम्म एउटै नेतृत्वमा पार्टी सञ्चालन गर्ने, आफूअनुकूल विधि र प्रतिनिधि चयन गर्ने तथा फरक मतलाई सहज रूपमा स्वीकार गर्न नसक्ने प्रवृत्तिले आन्तरिक लोकतन्त्र कमजोर बनाएको छ । पार्टीको नेतृत्वमा पुग्नु आजीवन नेतृत्वको अधिकार प्राप्त गर्नु होइन । नेतृत्व परिवर्तन, नयाँ पुस्ताको प्रवेश र योग्यताका आधारमा जिम्मेवारी वितरण लोकतान्त्रिक संगठनका अनिवार्य पक्ष हुन् । पुरानो पुस्ताको अनुभव र योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई निर्णय प्रक्रियामा वास्तविक स्थान दिन सक्नुपर्छ । आजको युवा पुस्ता केवल भाषण र राजनीतिक इतिहासबाट आकर्षित हुने अवस्थामा छैन । उसले अवसर, रोजगारी, सुशासन र आफ्नो क्षमताको सम्मान खोजिरहेको छ । आगामी स्थानीय निर्वाचन एमालेका लागि अर्को महत्वपूर्ण परीक्षा हो । वडा र पालिका तहमा उम्मेदवार खोज्नुपर्ने अवस्था, कार्यकर्ताको घट्दो सक्रियता र जनतासँग कमजोर हुँदै गएको सम्बन्धलाई संगठनात्मक निर्देशनले मात्रै सुधार्न सकिँदैन । स्थानीय नेतृत्वको छनोट गुटगत भागबण्डा, व्यक्तिगत निकटता वा पदको आकाक्षाका आधारमा होइन, जनतासँगको सम्बन्ध, विगतको योगदान, इमानदारी र कार्यक्षमताका आधारमा हुनुपर्छ । चुनावका बेला मात्रै गाउँ पुग्ने होइन, जनताको सुखदुःखमा निरन्तर साथ दिने व्यक्तिलाई अवसर दिनुपर्छ । त्यस्तै, एमालेले प्रदेश र स्थानीय तहमा आफ्नो नेतृत्व तथा सहभागितामा सञ्चालित सरकारहरूको कामको पनि निर्मम समीक्षा गर्नुपर्छ । संघीय सरकारको आलोचना गरेर मात्रै प्रतिपक्षीय भूमिका पूरा हुँदैन । आफ्ना जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवा प्रवाहमा के उपलब्धि हासिल गरे भन्ने तथ्य जनतासमक्ष प्रस्तुत गर्नुपर्छ । स्थानीय निर्वाचनको घोषणापत्र पनि पुराना नाराको पुनरावृत्ति होइन, बजेट, समयसीमा र जवाफदेहितासहितको प्रतिबद्धता बन्नुपर्छ ।

राष्ट्रिय भेला पार्टीभित्रको एकता प्रदर्शन गर्ने अवसर मात्र नबनोस् । नेतृत्वको कार्यशैली, आन्तरिक लोकतन्त्र, भ्रष्टाचारसम्बन्धी सार्वजनिक प्रश्न, संगठनको शुद्धीकरण र नयाँ पुस्ताको सहभागिताबारे स्पष्ट निष्कर्ष निकाल्ने थलो बनोस् । असहमति राख्नेलाई विरोधी ठान्ने होइन, आलोचनाबाट सिक्ने संस्कार विकास हुनुपर्छ । जनताको विश्वास सामाजिक सञ्जालको प्रचारबाट होइन, व्यवहार र परिणामबाट आर्जन गर्नुपर्छ । एमालेसँग लामो राजनीतिक इतिहास, देशव्यापी संगठन र अनुभवी नेतृत्व छ । तर इतिहासको गौरवले वर्तमानका कमजोरी ढाक्न सक्दैन । राष्ट्रिय भेलाको सफलता कति जना सहभागी भए वा कति प्रभावशाली भाषण भए भन्नेमा होइन, त्यसपछि पार्टीको व्यवहार कति बदलियो भन्नेमा निर्भर हुनेछ । कार्यकर्तामा उत्साह, युवामा आकर्षण, नेतृत्वमा जवाफदेहिता र जनतामा विश्वास फर्काउन सके मात्र यो भेला सार्थक हुनेछ । एमालेले अब कार्यकर्तालाई एउटै लयमा हिँडाउनुभन्दा पहिले जनताको बदलिएको मनोविज्ञान बुझ्नुपर्छ । नेतृत्वको सोच, संगठनको शैली र राजनीतिक कार्यदिशामा परिवर्तन नगरी पुरानै गतिमा अघि बढ्न खोज्नु समस्याको समाधान होइन । इतिहासले एमालेको पहिचान बनाएको छ, अब वर्तमानको कामले भविष्यको औचित्य प्रमाणित गर्नुपर्छ । राष्ट्रिय भेला एमालेको लय मिलाउने कार्यक्रम मात्र होइन, राजनीतिक रूपान्तरणको प्रस्थानबिन्दु बन्न सक्नुपर्छ ।

  • २०८३ मंसिर ३, बुधबार