बागलुङ । चैत यता मात्रै बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गंगाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा भर परेपनि चितुवा र दुम्सीको आतङ्कले उठिबासनै लगाएको छ । पशुपालनमा चितुवाको आक्रमण तथा खेतीबाली दुम्सीले नष्ट गर्न थालेपछि स्थानीय हैरान भएका छन् ।
पछिल्लो नौ महिनामा मात्रै १२ बोका बाख्रालाई चितुवाले आक्रमण गरेर नोक्सान पुराएको स्थानीय किसान गंगाधर सापकोटाले बताउनुभयो । चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परिवारको तीन बोका÷बाख्रा, नारायण सापकोटाको दुई वटा, मेहन्द्र हमालको दुई वटा र गंगा बहादुर ठकुरीको दुई बाख्रा÷पाठामा क्षति पु¥याएको छ ।
जैमिनीको ग्रामीण क्षेत्रमा चितुवा र दुम्सीको बढ्दो आतङ्कका कारण पशुपालन र अन्न बाली व्यवसायनै संकटमा पर्न थालेको छ । चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानले खर्कमा पशु चराउन छाड्नुपर्ने बाध्यता रहेको सापकोटा बताउनुहुन्छ । सापकोटाले नगरपालिकामा क्षतिको राहत मागेपनि नपाएको गुनासो गर्नुभयो ।
“अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा २५ घरमा नागरिक भएपनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायतका गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतङ्क बढ्न थालेको हो” सापकोटाले भन्नुभयो “हाम्रो गाउँमा बसाइसराइँ छैन तर छिमेकी गाउँ रित्तिदा खेतबारी झाँडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाल्यो ।” किसानले बारीमा पुगेर बादरलाई धपाउन सक्ने भएपनि चितुवा र दुम्सीसंग केही नलाग्ने उहाँको भनाई छ ।
चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले गुनासो गर्नुभयो । उहाँले चितुवा लखेट्ने कुकुर जैमिनी नगरपालिकासंग माग गरिरहेको बताउनुभयो ।
आठ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय गंगाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाल्दै आएपनि अहिले बाख्राको संख्या घटाउदै आएको बताउनुभयो । जैमिनी नगरपालिकामा बसाइसराइँ उच्च रहेपछि बाँझो जग्गा बढ्दा बाँदर, चितुवा र दुम्सीले बाँकी रहेका स्थानीहरुलाई समेत समस्या बनाएको छ ।
जैमिनी नगरपालिकामा बसाइसराइँ बढ्न थालेपछि रुख र झाडी बढ्न थालेपछि अन्य किसानहरुलाई समेत समस्या परेको छ । जैमिनी नगरपालिकामा पछिल्लो एक वर्षमा दुईसय परिवार बसाइसराइँ गरेर शहर छिरेको तथ्याङ्क रहेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले जानकारी दिनुभयो ।
