नेपालमा उत्पादन गर्न सकिने कृषि उपजको आयातमा बर्सेनि ठूलो रकम बाहिरिनु हाम्रो अर्थतन्त्रको गम्भीर विडम्बना हो । आत्मनिर्भर अर्थतन्त्र र स्वाधीन मुलुक निर्माणको भाषण गरिरहने हामीले आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने सामान्य वस्तुसमेत विदेशबाट आयात गरिरहेका छौँ । लसुन, प्याज, खुर्सानी, कागती, गोलभेँडाजस्ता दैनिक भान्सामा प्रयोग हुने कृषि उपजको आयात हेर्दा हाम्रो उत्पादन प्रणाली कति कमजोर छ भन्ने स्पष्ट हुन्छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा मात्रै नेपालले १ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको लसुन आयात गरेको तथ्यांक सार्वजनिक भएको छ । साउनदेखि कात्तिक मसान्तसम्म ७ हजार ४ सय ३८ टन लसुन आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात परिमाण ३७.५७ प्रतिशत र मूल्य ५७.६५ प्रतिशतले बढेको छ । आयातित लसुनमध्ये ९२ प्रतिशतभन्दा बढी चीनबाट आएको छ । यसले हाम्रो बजार विदेशी उत्पादन र आपूर्तिमा कति निर्भर छ भन्ने देखाउँछ ।
लसुन त एउटा उदाहरण मात्रै हो । दैनिक उपभोगका लागि आवश्यक पर्ने प्याज, खुर्सानी, कागती, गोलभेँडा, आलु तथा अन्य तरकारीजन्य वस्तुमा पनि आयात निर्भरता बढिरहेको छ । अझ नेपालमा उत्पादनको सम्भावना नै नभएका वस्तु आयात गर्नु स्वाभाविक हुन सक्छ । तर आफ्नै माटोमा उत्पादन गर्न सकिने वस्तुमा समेत विदेशको भर पर्नुपर्ने अवस्था हुनु स्वाभाविक होइन । यो केवल व्यापार घाटाको विषय होइन, कृषि नीति, उत्पादन प्रणाली र राज्यको प्राथमिकतासँग जोडिएको प्रश्न हो ।
नेपालमा खेतीयोग्य जमिन बाँझिँदै गएको छ । गाउँमा श्रमशक्ति घटेको छ । युवा जनशक्ति रोजगारीको खोजीमा विदेश पलायन भइरहेको छ । खेती गर्ने किसानले समयमै मल, बीउ, सिँचाइ, प्रविधि र बजार पाउन सकेका छैनन् । उत्पादन गरे पनि उचित मूल्य नपाउने र बजारमा आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने समस्या छ । अर्कोतर्फ, उपभोक्ताले विदेशी उत्पादन किन्नुपर्ने बाध्यता भोगिरहेका छन् । यस्तो अवस्थामा कृषि उत्पादन बढाउने नीति कागजमा सीमित हुनु दुर्भाग्यपूर्ण हो ।
लसुन आयातबाट सरकारले चार महिनामा २८ करोड २७ लाख रुपैयाँभन्दा बढी भन्सार राजस्व प्राप्त गरेको छ । राज्यका लागि राजस्व आवश्यक छ, तर आफ्नै देशमा उत्पादन हुन सक्ने वस्तु आयात गरेर राजस्व संकलन गर्नु दीर्घकालीन आर्थिक समृद्धिको आधार बन्न सक्दैन । आयातबाट राजस्व बढेको देखाएर अर्थतन्त्र बलियो भएको निष्कर्ष निकाल्नु गलत हुन्छ । बरु त्यही रकम देशभित्रै उत्पादन, रोजगारी र किसानको आम्दानी बढाउन प्रयोग गर्न सकिएको भए अर्थतन्त्रमा वास्तविक योगदान पुग्ने थियो ।
सरकारले कृषि उत्पादनलाई अनुदान वितरणको औपचारिकतामा सीमित नराखी उत्पादन, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनसँग जोड्नुपर्छ । कुन क्षेत्रमा कुन कृषि उपजको उत्पादन सम्भव छ भन्ने पहिचान गरी स्थानीय तहदेखि संघीय सरकारसम्मको समन्वयमा उत्पादनका कार्यक्रम सञ्चालन गर्नुपर्छ । किसानलाई मल, बीउ, सिँचाइ, प्रविधि र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने मात्र होइन, उत्पादित वस्तुको बजार र उचित मूल्यको सुनिश्चितता पनि गर्नुपर्छ । आयात प्रतिस्थापन गर्न सकिने वस्तुको पहिचान गरी क्रमशः स्वदेशी उत्पादनले बजार पाउने वातावरण बनाउनुपर्छ ।
नेपाललाई आत्मनिर्भर बनाउने आधार ठूला भाषण र नारामा होइन, उत्पादन गर्ने क्षमतामा छ । विदेशबाट सामान किनेर उपभोग गर्ने अर्थतन्त्रले स्वाधीनता र समृद्धिको सपना पूरा गर्न सक्दैन । हामीले आफैँ उत्पादन गर्न सक्ने वस्तु पनि उत्पादन नगर्ने, आवश्यकताभन्दा बढी आयात गर्ने र त्यसैलाई सामान्य व्यापारिक गतिविधि मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । आफ्नै माटो, श्रम र सीपको उपयोग गरेर उत्पादन बढाउन सके मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बलियो हुनेछ । अब प्रश्न स्पष्ट छ– उत्पादन गर्न सक्ने वस्तुसमेत आयात गरिरहने कि आफ्नै देशलाई उत्पादनमा आत्मनिर्भर बनाउने ?