आदर्श सञ्चार, पर्वत
पर्वतको जलजला गाउँपालिकास्थित शिव माध्यमिक विद्यालयलाई नागलीबाङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडले शैक्षिक सामग्री प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुग्ने गरी सहकारीले स्टेसनरी सामान वितरण गरेको हो ।
आफ्नो सत्रौँ स्थापना दिवसको अवसरमा भदौ १५ गते औपचारिक कार्यक्रमको सहित विद्यालयमा स्टेसनरी सामान प्रदान गरेको थियो । सामग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन सहकारीका सचिव गोकुल कँडेलले गर्नुभएको थियो । सहकारीको महत्व र आवश्यकताको विषयमा सहकारीका अध्यक्ष सूर्य महतले आफ्नो धारणा राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक अमृत प्रसाद सापकोटाले विद्यालयलाई शैक्षिका सामग्री प्रदान गरेकोमा सहकारी र सञ्चालकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रधानाध्यापक सापकोटाको भनाइ अनुसार सहकारी हरेक समाजको आर्थिक उन्नतिका लागि आवश्यक रहेको र नाग्लीबाङ बहुउद्देश्य सहकारी संस्थाले पवित्र भावना र उद्देश्यले विद्यालयमा स्टेसनरी वितरणको गरेको हो । सहकारीले गरेको यस कार्यले विद्यार्थीको मनोबललाई अझै उच्च बनाउनुका साथै समुदायसँग आफ्नो सम्बन्ध प्रगाड बनाएको उहाँको भनाई छ ।
सहकारीका प्रबन्धक सन्दीप केसीले सहकारी र विद्यालय आर्थिक गतिविधिको विषयमा विद्यार्थीलाई जानकारी गराउने संस्था भएको कुरामा जोड दिनुभएको थियो ।
