बागलुङ
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न र भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प्रशासनमा परिचयपत्र बनाउनेको भिड बढेको छ ।पछिल्लो २ दिनदेखि जिल्ला प्रशासन कार्यालय बागलुङमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि जेष्ठ नागरिकको भिडभाड छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अघिल्लो आर्थिक वर्षदेखिनै राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट भदौ १५ गते १ सय ४३ जनाले राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिचाए । भदौ १६ गते ६१ जनाले राष्ट्रिय परिचयपत्र बनाएको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य बनेका नागरिकले भदौ मसान्तभित्र सम्बन्धित वडामा कागजात बुझाउनु पर्छ । भत्ता नवीकरणका लागि समेत भदौ मसान्त भित्रै आवेदन दिन पर्छ ।
त्यसैले यतिबेला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीडभाड बढेको प्रजिअ गुरुङले बताउनु भयो । पश्चिम बागलुङका नागरिकले इलाका प्रशासन कार्यालय बुर्तिवाङमै परिचयपत्र बनाउछन् । गलकोट, ताराखोला, बरेङ, जैमिनी, काठेखोला र बागलुङ नगरपालिकाका नागरिक जिल्ला प्रशासन कार्यालय बागलुङमै आउनु पर्ने बाध्यता छ ।
जेष्ठ नागरिक मध्ये पनि अपाङ्गता भएका, आफै हिड्न नसक्ने, अरुको सहायता चाहिनेहरुका लागि केही दिनभित्रै बलेवामा शिविर सञ्चालन गर्ने तयारी गरेको प्रजिअ गुरुङको भनाई छ । परिचयपत्र बनाउनेहरुको भिड बढेपनि तयार भएर परिचयपत्र भने प्रशासनमै थन्किएका छन् ।
हालसम्म बागलुङका ९२ हजार १ सय ७० नागरिकले राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिचाएका छन् । ४६ हजार १ सय २८ परिचयपत्र तयार भएका छन् । तर, जम्मा ११ हजार ४६ नागरिकले मात्र परिचयपत्र लगेको प्रजिअ पुरुङले बताउनु भयो । बाँकी परिचयपत्र प्रशासनमै थन्किएका छन् ।
परिचयपत्रका लागि आवेदन दिएर तस्बिर खिचाएकै दिन अनलाइनमार्फत परिचयपत्र नम्बर प्राप्त हुन्छ । ‘सोही नम्बर प्रयोग गरेर नागरिकले आवश्यक काम गर्न सक्छन्,’ गुरुङले भन्नुभयो ‘परिचयपत्रका लिन सम्बन्धित व्यत्तिनै प्रशासन आउनुपर्छ, परिचयपत्र बनाएका अधिकांश नागरिक वैदेशिक रोजगारीमा गएका कारण पनि तयार भएका परिचयपत्र प्रशासनमै रहेको हुन सक्छ ।’
