• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

बागलुङमा जेसीज सप्ताह शुरु

आदर्श अनलाइन, बागलुङ

युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले यसबर्ष पनि बिभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह शुरु गरेको छ । बिभिन्न रचनात्मक तथा खेलकुदका कार्यक्रम सहित २४ गतेसम्म संचालन हुने गरि पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रम सहित सप्ताहको शुरु गरेको हो ।

जेसीज सप्ताहको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले उद्घाटन गर्नु भएको थियो । बागलुङ जेसीजले समाजमा केहि योगदान दिएका युवाहरुलाई प्रत्येक बर्ष गर्दै आएको युवा सम्मान कार्यक्रमबाट यस बर्ष पनि २ जनालाई सम्मान गरेको छ । कम उमेरमा निजामति सेवामा प्रवेश गरि नेतृत्वदायि भुमिकामा रहनु भएका यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवि शर्मा र बागलुङ नगरपालिका २ आवारोडमा बागलुङ कालिका ड्राई क्लिनर्स संचालन गर्नु भएका महिला उद्यमी शर्मिला पौडेललाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तिको वारेमा बागलुङ जेसीजका कानुनी सल्लाहकार ताराप्रसाद शर्मा र सदस्य रोहन जिसीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले युवाहरु सकरात्मक सोचका साथ अगाडि बढेमा समाज रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष सौरव श्रेष्ठ, वडा नम्वर २ का अध्यक्ष सुरज बोसेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष आश्विन शेख, जेसीजका लिडर्स अध्यक्ष ऋषीराम गौतम र सम्मानित व्यक्ति गुमादेवि शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो । सप्ताहको वारेमा मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष प्रेमप्रसाद ढकालले जानकारी गराउनु भएको थियो । कार्यक्रम शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत र सहसचिव एवँ कार्यक्रम संयोजक स्विकृती भारीको संचलनमा सम्पन्न भएको थियो । सप्ताहको दोस्रो दिन भदौ १९ गते लोकतान्त्रिक चोकमा दिउँसो २ बजेदेखि सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता हुने मुल संयोजक ढकालले जानकारी दिनुभयो ।