• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

बागलुङमा सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी बढी

आदर्श सञ्चार, बागलुङ
बागलुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी भन्दा अव्यवस्थित बसोबासी १३ गुणा बढी रहेको पाइएको छ । अव्यवस्थित बसोबासीलाई जग्गा दिने काम चुनौती पूर्ण भएपनि भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङ निस्सा वितरणको चरणमा भने पुगेको छ । आयोगले जिल्लामा प्राप्त निवेदन र मुल्याङ्कनका आधारमा सफ्टवयरमा प्रविष्टि गरिएको तथ्याङ्क अनुसार भूमिहीन दलित ९७ परिवार, भूमिहीन सुकुम्बासी ९७ परिवार रहेकोमा अव्यवस्थित बसोबासी दुई हजार ५५४ परिवार रहेको पाइएको छ ।

जुन तथ्याङ्क मध्ये जिल्लाका १० पालिकामा सबैभन्दा बढी अव्यवस्थित बसोबासी ढोरपाटन नगरपालिकामा रहेको पाइएको छ भने जैमिनी नगरपालिकाको तथ्याङ्क प्रविष्टि भइसकेको छैन । भूमि आयोग बागलुङका विज्ञ सदस्य उमेश गौतमका अनुसार तथ्याङ्क प्रविष्टिको काम अन्तिम चरणमा पुगेको र जैमिनी नगरपालिकाको प्रविष्टि गर्नेकाम बाँकी रहेको जनाउनुभयो ।

जिल्लाको ताराखोला गाउँपालिकामा ४ जना भूमिहीन दलित, १० भूमिहीन सुकुम्बासी र ३७ जना अव्यवस्थित बसोबासी गरी ५१ परिवारलाई निस्सा वितरण भइसकेको छ । जिल्लाभित्र सबैभन्दा बढी अव्यवस्थित परिवार ढोरपाटन नगरपालिकाको आठ र नौ नम्बर रहेका छन् । त्यहाँ भूमिहीन दलित ३०, भूमिहीन सुकुम्बासी १९ र अव्यवस्थित बसोबासी एक हजार ६०० गरी एक हजार ६४९ परिवारको तथ्याङ्क प्रविष्ट गरिएको छ । तमानखोला गाउँपालिका ५४४ अव्यवस्थित बसोबासी रहेको पाइएको छ भने भूमिहीन तथा सुकुम्बासी भने नरहेको पाइएको छ ।

बागलुङ नगरपालिकामा २७ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्बासी र १६९ अव्यवस्थित बसोबासी गरी २५१ परिवारको तथ्याङ्क संकलन गरिएको छ । गलकोट नगरपालिकामा १८ भूमिहीन दलित, ९ भूमिहीन सुकुम्बासी र ६३ अव्यवस्थित बसोबासी गरी ९० परिवारको तथ्याङ्क संकलन गरिएको हो । जैमिनी नगरपालिकामा भने तथ्याङ्क संकलनकै क्रममा रहेको छ ।

बरेङ गाउँपालिकामा ६ परिवार भूमिहीन दलित, २ परिवार भूमिहीन सुकुम्बासी र ३७ जना अव्यवस्थित बसोबासी रहेका छन् भने काठेखोला गाउँपालिकामा एक परिवार भूमिहीन दलित र ९ परिवार अव्यवस्थित बसोबासी रहेको पाइएको छ । बडिगाड गाउँपालिकामा ११ परिवार भूमिहीन दलित, २ परिवार भूमिहीन सुकुम्बासी र ३३ परिवार अव्यवस्थित बसोबासी रहेको विज्ञ सदस्य गौतमले जानकारी दिनुभयो । आयोगको काम भन्दा स्थानीय पालिकाको काम धेरै भएकाले निस्सा वितरणमा ढिलाई भएको गौतमको भनाई छ ।

तथ्याङ्क संकलनको काम सकिएको तथ्याङ्कको आधारमा नापजाँचको काम शुरु गरिने गौतमको भना छ । “सुकुम्बासी भन्दा अव्यवस्थित बसोबासी धेरै भएकाले समस्या भएको हो, सुकुम्बासीको हकमा अन्यत्र समेत जग्गा दिन सकिन्छ, अव्यवस्थित बसोबासीको भने बसेकै ठाउँ उपयुक्त भएमा लालपूर्जा दिने हो” गौतमले भन्नुभयो “प्रविष्टि गरेको तथ्याङ्कका आधारमा निस्सा वितरण भएपछि नाप जाँच हुन्छ, जग्गा छुट्टीन्छ, दिन मिल्ने स्थानबाट लालपूर्जा दिन थालिन्छ, सरसर्ती काम भएमा छ महिनामा लालपूर्जा दिन सकिन्छ ।”