प्रकाशकीय
आदर्श सञ्चार अनलाइन (डिजिटल पत्रिका), जसरी सामूहिक सहकार्यको सोचबाट सञ्चार सहकारी जन्मियो, तत्कालीन समयमा त्यसरी नै आजको डिजिटल युगको गति र लय पछ्याउँदै शुरुवात गरिएको हो । जुन सञ्चालनको आज (शनिबार)देखि छैठौं वर्ष पुरा गरेर सातौं वर्षमा प्रवेश गरेको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले आज भन्दा दुई दशक अगाडि नै छापा माध्यमको अपरिहार्यता र महत्वबोध हुँदा धौलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ । छापा र डिजिटल यात्रा सहित धौलागिरीको पत्रकारितामा हामीले केही संस्थागत, शैलीगत मूल्य मान्यता र आदर्शहरु स्थापित गर्न सफल भएका छौ । यसबिचमा हामीले अनेकन आरोह अवरोहसँग साक्षात्कार गर्नुप¥यो । दैनिक पत्रिका (छापा) र आदर्श सञ्चार (डिजिटल पत्रिका) शुरुवात गर्दा हामीसँग केवल पत्रकारिता मार्फत सामाजिक दायित्व निर्वाह गर्ने दृढता र अठोट मात्र थियो, आज हामीसँग त्यसमा अनगिन्ती अनुभवहरु थपिएको छ, सुशासन, जवाफदेहिता, सामाजिक परिवर्तन, विकास, पारदर्शिताको एक सारथी बनेको खुशी जोडिएको छ । त्यो भन्दा पनि ठुलो कुरा हामीले दैनिक हजारौं पाठक र दर्शकको अपार साथ, विश्वास र भरोसा पाइरहेका छौँ ।
हाम्रो सह–प्रकाशन आदर्श सञ्चार अनलाइनको छैठौं वार्षिकोत्सवका अवसरमा देश विदेशमा रहनुभएका प्रिय पाठक, विज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक सबै प्रति हामी हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछौ । हामी भोलिका दिनमा यसलाई दैनिक समाचारको अभिलेख मात्र होइन, समाजलाई सही र सकारात्मक दिशा निर्देश गर्ने खालका समाचार सामग्रीहरु उत्पादन प्रकाशन गर्न प्रयासरत रहने छौ । समाजमा व्याप्त बेथिति, अन्याय, अत्याचार बिरुद्ध खबरदारी गरिरहने छौ । विधिको शासन, सामाजिक उत्तरदायित्व, जवाफदेहिता र पारदर्शिताको पक्षमा खरो उत्रने छौँ ।
पत्रकारिताको आधारभूत मूल्य, मान्यता र नागारिक प्रतिको आफ्नो दायित्वबाट हामी कहिल्यै बिमुख र विचलित हुँदैनौ । हर मूल्यमा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सक्रिय र समर्पित हुनेछौ । हामीसँग सत्य, तथ्य र सन्तुलित रुपमा खबर सम्प्रेषणको लामो अनुभव र विरासत छ । त्यसैले आगामी सम्भावित कठिन यात्राका लागि पनि प्राविधिक रुपमा पाठकमैत्री र समाचार सामग्रीका हिसाबले नागरिकमैत्री डिजिटल संस्करण हाम्रो प्राथमिकतामा छ ।
बागलुङबाट सञ्चालित भए पनि यसलाई आजको ग्लोबल दुनियाँमा विश्वभर रहेका नेपाली माझ पु¥याउन थप परिस्कृत स्वरुप आउने हाम्रो संकल्प छ । यस यात्रामा तपाई सचेत पाठक,विद्धान लेखक, भरपर्दा समाचार स्रोत, उदारमनका विज्ञापनदाता र शुभेच्छुकहरुको साथ सहयोग र स्नेहले हाम्रो चुनौतीपूर्ण यात्रा र संकल्प साकार हुनेमा विश्वस्त छौँ ।
हुमाकुमारी जिसी ‘अञ्जु’
अध्यक्ष
आदर्श सञ्चार सहकारी संस्था, बागलुङ
