बागलुङ
आलु मिठो ताराखोलाको……….।
हासम बोलम गरौं, रमाईलो, के भर छर मर्ने चोलाको
गायक बसन्त थापा र खिमा रोका मगरले ताराखोलाको स्वादिष्ट आलुको विषयलाई समेटेर सात वर्ष अघि गाएको गितको अंश हो यो । त्यो गित जस्तै चर्चित छ बागलुङको ताराखोलाको आलु र भाँगो । कोसेलीका रुपमा समेत निर्यात भइरहेको आलु र भाँगोको प्रसिद्ध जस्तै मुल्य भने पाउन नसकेको स्थानीयको गुनासो छ ।
अचारमा अत्यावश्यक भाँगो र मिठो स्वादका कारण बागलुङको ताराखोलाको आलुले बजारमा माग अनुसारको मुल्य भने पाउन नसकेको हो । आलु जोनमा समेत समेटिएको ताराखोलामा उत्पादन भएको आलु र भाँगोको मुल्य अस्थिर भइरहदा किसान मारमा परेको गुनासो छ । चिसो ठाउँमा फलेको आलु चाख्न लालायित उपभोक्ताले चर्को मुल्य तिर्न बाध्य भएपनि किसानले भने सस्तो मुल्यमा आलु बिक्री गर्न बाध्य भएका छन् ।
ताराखोला गाउँपालिका निवासी महिला उद्यमी उमा सापकोटा ताराखोलाको अर्गानिक उत्पादन आलु र भाँगोले उचित बजार भाउ नपाएको बताउनुहुन्छ । मुल्यको अस्थिरताका कारण यहाँको आलु र भाँगो किसान बिचौलियाको मारमा पारेको बताउदै सापकोटाले आलु र भाँगोको मुल्य ताराखोलाभर एउटै कायम गर्न सकेमा मात्रै किसानलाई सहज हुने बताउनुहुन्छ ।
आलु र भाँगोको किसानले उचित भण्डारण गर्न नसक्दा किसानले बिचौलियको हातमा भाँगो र आलु बिक्री गर्न बाध्य भएको उहाँको भनाई छ । गाउँपालिकाले वार्षिक रुपमा आलु र भाँगोको मुल्य निर्धारण गर्न आवश्यक रहेको सापकोटाको भनाई छ । “खनिसकिएका आलु भण्डार गर्ने चिस्यान केन्द्र नहुँदा खनिएका आलु कुहिन्छन्, हतारमा बिक्रि गर्दा सस्तो मुल्य पर्दछ, त्यही आलु बजारमा पुग्दा दोब्बर भाउ परेको आफैले देखिन्छ” सापकोटाले भन्नुभयो “दुई वर्ष अघि पाथीको ८०० मा बिक्रि गरेको भाँगो अहिले ५०० पाथीमा बिक्रि गर्न बाध्य छौं, गाउँपालिकाले मुल्य निर्धारण गरेर बजारीकरणमा सघाउन आवश्यक छ ।”
आलु व्यवसायीले आलु बेच्न हतार गर्दा समेत उचित मुल्य नपाइएको कतिपयको भनाई छ । अहिले ताराखोलामै आलुको प्रतिपाथी १५० देखि १८० सम्म पर्दछ । तर त्यही आलुको मुल्य बागलुङ बजारमा प्रतिपाथी २५० सम्म पर्न गएको छ । बजारमा ताराखोलाको भाँगोको मुल्य अहिले ६०० देखि ७०० पाथीमा बिक्रि भइरहेको छ । ताराखोलाको आलु भनेर अन्यत्रको कमसल आलुलाई महङ्गो मुल्यमा समेत बिक्री गरिरहेको पाइने गर्दछ ।
ताराखोलाको सबैजसो कृषकले आलु उत्पादन गर्छन् । कृषकहरुले आलु भण्डारण गर्न समेत समस्या छ । रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बिउमात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका–५ का वडा अध्यक्ष मन बहादुर रोकाले बताउनुभयो ।
ताराखोलामध्ये ठूलो हिलेका किसानले आलु निर्यातबाटै वार्षिक लाखौं आम्दानी गर्ने बताउनुहुन्छ । उहाँले आलुको मुल्य निर्धारण नहुँदा किसान उत्पादन गरेको आलु बिचौलियालाई बुझाउन बाध्य भएको बताउनुहुन्छ । “किसानलाई कामकै चटारो हुन्छ, धैर्य गरेर आलु भण्डारण गर्न सकेमा मात्रै राम्रो मुल्य पाइन्थ्यो, ठूलो हिलेका किसानले आलु कुहिने डरले समेत छिट्टै बिक्रि गर्ने भएकाले सस्तो मुल्य पर्न गएको हो” रोकाले भन्नुभयो “अन्य उपभोग्य बस्तुको जस्तो मुल्य स्थिर नरहँदा समस्या छ, गाउँपालिकाले मुल्य निर्धारण गर्न खोजेपनि आलु र भाँगोको मुल्य अस्थिर भएकाले नसकेको हो ।”
हिउँदमा लगाएर बर्षाको समयमा उकेर्ने बागलुङको आलु बजारमा बढी चर्चित छ । ताराखोलाको आलु काठमाण्डौ, पोखरा, बुटवल र भैरहवामा सम्म निर्यात भएपनि आलु किसानले बजार मुल्यको आधा रकम मात्रै पाउने गरेका छन् । आलुको अचारमा भाँगो लगाउँदा आउने स्वाद सबैको जिब्रोमा गडेकाले भाँगो भन्दा साथ ताराखोलाको पहिचान आउने गरेको छ ।
बारीमा लगाएको आलु जेठ, असारमा फसल लिईन्छ भने लगत्तै भाँगो लगाइने गरेको छ । भाँगोले मोलेको अचार अथवा स्थानीय भाषाको चटनी खानाको लागि ताराखोलाको भागो बागलुङ कजारमा खोजी खोजी खरिद हुने गरेको आलु र भागो व्यापारी संकर रेग्मीले जानकारी दिनुभयो ।
