• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

तित्याङमा रास्वपाको वडा अधिवेशन, सभापतिमा खड्का

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा आइतवार वडा भेला सम्पन्न गरेको छ । भेलाले राम बहादुर खड्का ‘सुसेली’ सभापति रहेको ९ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

रास्वपाले कमिटिका अन्य सदस्यहरुको नाम सार्वजनिक नगर्ने नीति लिएको छ । वडाहरुमा रास्वपाको संगठन छैन, पुराना विभिन्न पार्टी परित्याग गरी रास्वपामा आवद्ध हुने युवाहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ, हामीले नाम सार्वजनिक गर्दा पुराना पार्टीका नेताहरुले युवाहरुलाई र उनीहरुको परिवारलाई समेत दवाव दिने, धाक धम्की दिने गरेका कारण सबैको नाम तत्कालका लागि सार्वजनिक नगर्ने अभियान चलाइएको रास्वपाबाट गत संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ का उमेदवार खिमानन्द कंडेलले जानकारी दिनुभयो ।

वडा अधिवेशनको उद्घाटन रास्वपा केन्द्रीय गैर आवासीय नेपाली सम्पर्क विभागका सदस्य विष्णु गुरुङ (एकता) ले गर्नु भएको थियो ।

अधिवेशनको उद्घाटन पछि बोल्दै गुरुङले नेपाली जनताले राजनीतिमा विकल्पको खोजी गरेकोले संगठनलाई बलियो र व्यवस्थित गराएर २०८४ को चुनावमा सहभागी हुने गरी अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

२०७९ को संसदीय निर्वाचनमा भर्खर स्थापना भएको रास्वपाले बागलुङ क्षेत्र नं. १ मा ९ हजार १९१ मत ल्याएको थियो, संगठन नै नभएको पार्टीले त्यतिबेला ल्याएको मत नै बागलुङका जनताले पुराना दलको विकल्प खोजेका छन्, भन्ने उदाहरण हो, गुरुङले भन्नुभयो,–‘संगठन विस्तार गर्ने, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने र जनताका बीचमा रहेर पार्टीका गतिविधि सञ्चालन गर्न सक्यौ भने २०८४ मा रास्वपाको स्पष्ट बहुमत आउने कुरा कसैले रोक्न सक्दैन ।’

कार्यक्रममा प्रदेश उपाध्यक्ष मिना आचार्य, जिल्ला अध्यक्ष महेन्द्र खड्का, २०७९ को संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का रास्वपा उमेदवार खिमानन्द कंडेल, प्रदेश संगठन विभाग सदस्य खिमानन्द पौडेल, बागलुङ नगरपालिकाका सभापति राम प्रसाद अधिकारी लगायतले संगठन निर्माण लगायत पार्टी विस्तारका विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा शुभेच्छुकहरुको तर्फबाट मेजर रोशन कार्कीले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिका वडा नं. ९ का तदर्थ समितिका संयोजक सेते थापा मगरको अध्यक्षता, राम बहादुर खड्का सुसेलीको स्वागत र नगर सचिव नेत्र शर्माको सञ्चालनमा सम्पन्न भएको खिमानन्द कंडेलले जानकारी दिनुभयो ।