म्याग्दी/जिल्ला कारागार शाखा म्याग्दीमा बुधबार बिहान भएको तोडफोड पछि भागेका ७६ मध्ये २५ जना कैदीबन्दीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला कारागार कार्यालय म्याग्दीका जेलर प्रतिज्ञा सुवेदीका अनुसार विभिन्न कसुरमा कैद भुक्तानी गरी रहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरु मध्ये ७६ जना हिजो बिहान फरार भएका थिए । फरार भएका मध्ये हिजै देखि थालीएको खोजी कार्यमा प्रहरीले बिहीबार दिउँसो सम्म २५ जनालाई नियन्त्रणमा लिएको छ । कैदी बन्दीहरु भागेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३क) बमोजिम बेनी नगरपालिकाको ६ वटा वडाहरुमा कफ्र्यु आदेश जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरभित्रका कफ्र्यु आदेश जारी गरेको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ । पूर्व तर्फ म्याग्दी र पर्वतको सिमाना, दक्षिण तर्फ म्याग्दी र बागलुङको सिमाना साथै अर्थुङ्गे र गलेश्वर क्षेत्र अन्तगत पर्ने बेनी नगरपालिकाको १, २, ६, ७, ८ र ९ नम्बर वडा भित्रका सम्पूर्ण भूभागमा निर्देशन जारी रहने प्रमुख जिल्ला अधिकारी बदी प्रसाद तिवारीले जानकारी दिनुभयो ।
२५ गते बिहान देखि शुरु भएको कफ्र्यु आदेश २६ गते बेलुका ४ बजे सम्म कायम रहेको छ । ४ बजे देखि सर्वसाधारणका लागि किनमेल गर्नका लागि खुला हुने र पुनः ६ बजे देखि भोली बिहान ७ बजे सम्मका लागि आदेश जारी हुने प्रजिअ तिवारीको भनाई छ ।