पर्वत । जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीहरू मध्ये पाँच जना नियन्त्रणमा आएका छन् । जेनजी प्रदर्शनका क्रममा फरार भएका पाँच जनालाई नियन्त्रणमा लिएर पुन जिल्ला कारागार,पर्वतमा चलान गरिएको हाे ।
कारागारबाट फरार भएका १९ जनामध्ये १४ जनालाई समयमा नै प्रहरीको सम्पर्कमा आउन भनिएको छ । अदालतबाट कैद फैसला भएका व्यक्तिहरूले जसरी पनि कैद भुक्तान गर्नै पर्ने र प्रहरीले जुनसुकै समयमा पनि पक्राउ गरेर सजाय भुक्तानको लागि कारागारमा राख्ने भएकोले इमानदार भएर समयमा नै प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन बिष्टले बताए ।
विभिन्न अपराधमा संलग्न भएका व्यक्तिहरूलाई ३०/४० वर्षपछि समेत पक्राउ गरेर कारागारमा राखिएको सम्झाउँदै प्रहरीले लामो समय प्रहरीको आँखा छल्न नसकिने भएकोले समयमा नै सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ । आन्दोलनको मौकामा देशका विभिन्न कारागारहरूबाट भागेका कैदी बन्दीहरू भने आत्मसमर्पण गर्दै प्रहरी चौकीहरूमा जाने क्रम बढिरहेको छ ।
