• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

शून्यता र संकटबाट त जोगियो, अब…?

सम्पादकीय
पछिल्लो चार दिन नेपाल र नेपालीका लागि निकै सकसपूर्ण रह्यो । मानवीय तथा भौतिक क्षतिका हिसाबले ५१ जनाले अप्रिय रुपमा ज्यान गुमाउन बिबश भए । उपलब्धिका हिसाबले दुई दिनकै अन्तरालमा अभूतपूर्व परिवर्तन । जेनजी १९९७ देखि २०१२ को बिचमा जन्मिएका हाल १३ देखि २८ वर्ष उमेर समूह हो । उनीहरुले मुख्यतः सामाजिक सञ्जाल माथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन घोषणा गरेका थिए । उक्त आन्दोलनले हिंसाको रुप लियो । राज्य क्रुर दमनमा उत्रियो । ३ घण्टाकै अन्तरालमा १९ जनाले ज्यान गुमाए । देशभरमा ५१ जना मृतक पुगिसकेको छ । अझै पनि यो संख्या बढ्दो क्रममा छ । त्यसपश्चात मुलुकमा अकल्पनीय क्षति सँगै केही अनपेक्षित परिवर्तन ल्यायो । प्रधानमन्त्री, मन्त्रीहरु राजीनामा दिने मात्र होइन, भागाभाग हुने अवस्था बन्यो । प्रधानमन्त्रीले राजीनामा दिए पश्चात शुरु भएको संवैधानिक रिक्तताले अनेकन संकट, संशय र जटिलता पैदा गरेको थियो । जुन शुक्रबार साँझ धेरै हद सम्म निवारण भएको छ ।

अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएको छ । अनेकन भय, शकां उपशंका, अड्कलबाजीका बाबजुद राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलित जेनजी समूह बिच सहमति जुट्नु सकारात्मक कुरा हो । अहिलेको जटिल राजनीतिक संकटकामा अनेक संशयका बाबजुद पनि संयमता देखाउँदै कानुन र शान्ति–व्यवस्था कायम, अन्तरिम सरकारका लागि समन्वय गर्ने प्रमुख सेनापति अशोकराज सिग्देल साँच्चिकै धन्यवादको पात्र छन् । भलै, आफ्नै जंगी अड्डा अघि सिंहदरबार जल्दाको घटनामा नागरिकका अनेकन संशय र प्रश्नहरु कायमै छन् । अब कार्की नेतृत्वको सरकारको मुख्य जिम्मेवारी चाँडो भन्दा चाँडो चुनाव गराएर देशलाई अहिलेको परिवन्दबाट निकास दिने त हो नै, यसका साथै आन्दोलनमा शहादत प्राप्त र घाईते परिवारप्रति सरकारको पूर्ण जवाफदेहिता अपरिहार्य छ । जेनजी आन्दोलन माथिको चरम दमन, यसलाई हिंसात्मक बनाउने कार्यमा संलग्न, सररकारी, सार्वजनिक र निजी सम्पत्ति माथि आगजनी, तोडफोड र लुटपाट गर्नेहरुलाई कानुनी सजायको दायरामा ल्याउनु पर्छ । र २०४६ साल यताको भ्रष्टाचारको छानविनका लागि कदम अघि बढाउने जिम्मेवारी मुख्यतः छ ।

जे होस्, एक अत्यासलाग्दो कठिन समय र संकटबाट मुलुकले तत्कालका लागि पार पाएको छ । जेनजी युवाहरुले नेपालको इतिहासमा एक सुन्दर अध्याय दर्ज गरेका छन् । अब यो कति लयबद्ध र गतिशील हिसाबमा अघि बढ्नेछ ? यसका बारेमा अहिले नै भन्न हतारो हुनेछ । तर, आशा गर्ने प्रशस्त ठाउँहरु छन्, उति नै भयग्रस्त संशयहरु पनि व्याप्त छन् । यद्यपि, नेपालको पहिलो महिला प्रधानन्याधीशको इतिहास दर्ज गर्नुभएका कार्कीले प्रधानमन्त्रीमा पनि इतिहास लेखाउनु भएको छ । यद्यपि, निकै अप्ठ्यारो परिस्थितिमा पाएको जिम्मेवारीको भारी कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ कि त्यसले नै थिचिएर प्रधानन्याधीश बन्दाको साखमा पनि धब्बा लाग्छ । अब प्रश्नको घेरामा प्रधानमन्त्री शुशिला कार्की र उनको मन्त्रीमन्डल हुनेछन् । अनि आन्दोलनका देखिएका र नदेखिएका स्टेकहोल्डर माथि पनि स्वभाविक प्रश्नहरु रहनेछन् । सरकार निकै अप्ठेरो समयमा बनेको छ । यो अप्ठेरो परिस्थितिमा निर्माण भए पनि यो सरकार प्रश्नबिहीन हँुदैन, हुन पाउने छैन । अतः हक्की स्वभावका कार्कीले निर्धारित समयमै निर्वाचन गराउने, अहिले खरानीको थुप्रो जस्तो भएको देशमा केही आशा, सम्भावनाको सञ्चार गराउने जिम्मेवारीमा कुशलतापूर्वक नेतृत्व गर्न सक्नुहोस्, फेरि एकपटक जेनजी आन्दोलनमा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धासुमन, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना, आन्दोलनमा सक्रिय र समर्पित सबै जेनजी प्रति नवीन युग आरम्भका लागि असीम सम्मान । र नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना ।