बागलुङ । बागलुङमा आर्थिक वर्ष ०८१/०८२ मा नागरिकता र राहदानी लिनेको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०८०/०८१ को तुलनामा राहदानी र नागरिकता लिनको संख्यामा कमी आएको हो ।
तर, नागरिकताको प्रतिलिपि लिनेको संख्यामा भने वृद्धि भएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ५ हजार ८३ जनाले नयाँ नागरिकता लिएका थिए । १० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका थिए ।
आर्थिक वर्ष ०८१/०८२ मा यो संख्या घटेर ४ हजार ७ सय १८ जनामा पुगेको छ । वैवाहिक अङ्गीकृत नागरिकता लिनेको संख्या पनि जम्मा ७ रहेको छ ।
०८०/०८१ मा ४ हजार ३ सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । ०८१/०८२ मा ४ हजार ६ सय जनाले नागरिकताको प्रतिलिपि लिएको प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०८०/०८१ मा जिल्ला प्रशासन कार्यालय बागलुङमा १० हजार ६ सय ८९ जनाले राहदानीका लागि आवेदन दिएका थिए । जसमध्ये ९ हजार ३ सय ७९ राहदानी वितरण गरिएको थियो ।
नागरिकता जस्तै राहदानीको आवेदन दिने र वितरण हुने संख्यामा पनि कमी आएको छ । आर्थिक वर्ष ०८१/०८२ मा ८ हजार ९ सय ९३ राहदानीका लागि आवेदन परेको थियो । जसमध्ये ८ हजार ६ सय ९४ जनालाई राहदानी वितरण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार प्रशासनले आर्थिक वर्ष ०८०/०८१ मा ५ करोड ९१ लाख ८१ कजार ८ सय ९५ रुपैयाँ राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष ०८१/०८२मा राजश्व संकलनमा समेत कमी आएको छ । प्रजिअ गुरुङले ५ करोड १३ लाख ८८ हजार ६ सय ६२ रुपैयाँ संकलन भएको बताउनु भयो ।
पछिल्लो समय राष्ट्रिय परिचयपत्र लिनेहरुका कारण नागरिकताको प्रतिलिपि लिनेको संख्यामा वृद्धि भएको प्रजिअ गुरुङको भनाई छ । पुराना नागरिकताका अक्षर मेटिएका, फोटो नबुझिएका र विभिन्न कारणले राष्ट्रिय परिचयपत्र बनाउँदा समस्या भएका कारण नागरिकताको प्रतिलिपि लिनेको संख्यामा वृद्धि भएको उहाँले बताउनु भयो ।
