• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

दुग्ध उत्पादक किसानले पाए ३७ लाख अनुदान

बागलुङ । किसानले उत्पादन गरेको दुधको आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूधको संकलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दुधमा रु. पाँच अनुदान पाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा बागलुङका ८ वटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले रु. ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन् । अनदानबाट झण्डै ८०० किसान लाभान्वित भएका छन् ।

अनुदान पाउनका लागि दुधको खरिद बिक्री गरेको प्रमाण र एक दिनमा न्यूनतम २०० लिटरको दुधको कारोबार गर्ने सहकारी मार्फत किसानले अनुदान प्राप्त गर्ने गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाका अनुसार केन्द्रको सफल तथा प्रभावकारी कार्यक्रम मध्ये उत्पादनका आधारमा दुध किसानले पाउने प्रोत्साहन रकम रहेको छ । किसानले उत्पादन गरेको दुध सोझै बजारमा बिक्री गर्नेले भने अनुदान नपाउने सापकोटाको भनाई छ ।

“उत्पादनका आधारमा अनुदान निकै प्रभावकारी अनुदान कार्यक्रम हो, किसानले जति धेरै उत्पादन गर्छन उतिनै बढी अनुदान पाउछन्, चालु आर्थिक वर्षमा समेत दुध किसानलाई प्रति लिटर पाँच अनुदान दिनका लागि रु.३८ लाख बजेट व्यवस्थापन गरिएको छ” सापकोटाले भन्नुभयो “दुधको उत्पादन भएर एकमुष्ट बजारीकरण गर्नका लागि किसानलाई सहकारीमार्फत अनुदान दिएका छौं, उक्त अनुदान वार्षिक रुपमा बढ्दै आएको छ ।”

आर्थिक वर्ष २०७८/२०७९ मा चार लाख २० हजार लिटर दुधमा अनुदान वितरण गरेको केन्द्रले गत आर्थिक वर्षमा ७ लाख ४६ हजार ५५४ लिटर दुधमा रु. ३७ लाख ३२ हजार ७६८ अनुदान वितरण गरेको थियो ।

किसानलाई १० लाख लिटर दुधमा अनुदान दिन सक्ने विज्ञ केन्द्रको भनाई छ । बागलुङ बजारमा जिल्ला सहकारी संघमा १५ वटा उत्पादन सहकारीले दुधको संकलन गरेर पठाउने भएपनि दैनिक २०० लिटर दुधको कारोबार गर्ने सहकारी जम्मा ८ वटा मात्रै हरेकाले मापदण्ड अनुसार ८ वटा सहकारीमा दुध संकलन गर्ने किसानले मात्रै उत्पादनका आधारमा प्रतिलिटर रु. पाँच का दरले अनुदान प्राप्त गरेका हुन् ।