• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

कालीगण्डकी करिडोर : २३४ किमि कालोपत्र, ३६ वटा पुल निर्माण

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक अन्तिम चरणमा पुगेको छ । आयोजना शुरु भएको १६ वर्षमा कालीगण्डकी करिडोर अन्र्तगत उक्त खण्डमा पर्ने २९३ किमि मध्ये २३४ किमि सडक कालोपत्र, ३६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने छ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

कालीगण्डकी करिडोर गैंडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्क अनुसार कालीगण्डकी करिडोर बागलुङ, गुल्मी, पाल्पा, नवलपुर र कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्डकको स्याङ्जा र पर्वत जिल्लामा फैलिएको उक्त खण्डमा ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तिय प्रगति भएको छ ।

आयोजना शुरु भएको १६ वर्षमा ट्रयाक खोल्न, स्तरोन्नती, चौडा पार्न, कालोपत्र गर्न र पुलहरु निर्माण गर्नका लागि रु.१४ अर्ब ७ करोड खर्च भएको करिडोरका इन्जिनियर उत्सव बस्यालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०६६/६७ सालमा आयोजना शुरु गरिएको र २०८३/२०८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । शुरुमा २० अर्ब लागत गरेको उक्त २९३ किमि खण्डमा अहिले सम्म ७० प्रतिशत रकम खर्च भइसकेको छ ।

बस्यालले २९३ किमि सडकमध्ये १४५ किमि सडक सम्पन्न प्रश्चात सडक डिभिजन कार्यालयहरुलाई हस्तान्तरण गरिसकेको जानकारी दिदै उक्त खण्डमा गएका ठूला पहिरोहरुको ठेक्का व्यवस्थापन, जम्मा ०.४२ किमि सडकको ठेक्का व्यवस्थापन र १७ वटा पुल बन्न बाँकी रहेको जानकारी दिनुभयो ।

चार जिल्ला फैलिएको करिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा खण्ड र दुई जिल्ला फैलिएको कालीगण्डकी लोकमार्ग मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्ड रहेको छ । करिडोरको नवलपुरमा ७७.९७ किमि, पाल्पामा ८६.२७ किमि, गुल्मीमा ४१.०६ किमि, बागलुङमा ३४.७० किमि, स्याङ्जामा १० किमि र पर्वतमा ४३ किमि पर्दछ ।

“१६ वर्षमा ८० प्रतिशत काम सम्पन्न भएको छ, १७ पक्की पुल र पहिरो र केही समस्या ग्रस्त एक किमि बाहेकको सडक ठेक्कामा छ, २९३ मध्ये जम्मा ५९ किमि कालोपत्र गर्न बाँकी छ, जसमध्ये बागलुङमा १० किमि कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको छ” इन्जिनियर बस्यालले भन्नुभयो “आर्थिक वर्ष २०८१/८२ मा मात्रै रु.दुई अर्ब ४७ करोड बजेट विनियोजन भएकोमा रु. दुई अर्ब ३५ करोड अर्थात ९४ प्रतिशत खर्च भएको थियो, ठेक्कामा गइसकेकाले २०८३/२०८४ मा गैंडाकोट–राम्दी–मालढुङगा खण्ड सकिन्छ भन्नेमा छौं ।”

उक्त खण्डमा गत आर्थिक वर्षमा ३० किमि सडक लक्ष्य रहेकोमा ४४ किमि सडक कालोपत्र गरिएको र ४ वटा पक्की पुल निर्माण गरिएको छ । गैडाकोट–राम्दी–मालढुङगा खण्डमध्ये बागलुङ खण्डमा ३४.७० किमि सडक पर्दछ । जसमध्ये बलेवा–जैमिनी खण्डको २४ किमि सडक कालोपत्र सम्पन्न भइसकेको छ भने बलेवा–मालढुङ्गा सडकको १० किमि सडक कालोपत्रको चरणमा छ । बलेवा–मालढुङ्गा खण्डमा भने बल्ल ५६ प्रतिशत भौतिक प्रगति भएको छ ।