• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

मिथ्या सूचना, भ्रम र भविष्य

सम्पादकीय
आम सञ्चारका माध्यम भन्दा पनि सशक्त जस्तो भएर नेपाली समाजमा पहुँच स्थापित गर्ने होडमा छन् । फेसबुक, युट्युव, टिकटक लगायतका डिजिटल माध्यमहरु आम मानिसको अभिन्न अंग जस्तो बनिसकेका छन् । सामाजिक सञ्जाल बिना आजकाल मानिसहरु केही समय पनि व्यतित गर्न निकै सकसपूर्ण मान्छन् । नेपाल सरकारले यही सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्न दर्ता र सूचिकरणका लागि पहल ग¥यो । तर, एकाध बाहेक सम्पर्कमा नआए पछि सरकारले प्रतिबन्धको घोषणा ग¥यो । यसको बिरोधमा आम नागरिक, खासगरी जेनजीहरु मैदानमा उत्रिए । जुन आन्दोलनले सरकारको चरम दमनका कारण विद्रोहको रुप लिँदा आज पुराना राजनीतिक दल र तिनेका नेताहरु नै सदाका लागि किनार लाग्ने अवस्था पैदा भएको छ ।

अघिल्लो साता मात्रै नेपालमा जेनजी आन्दोलन भयो । यस आन्दोलनमा भएका कुरा मात्र होइन, सनसनपूर्ण भाइरल भिडियो र समाचार सामग्रीहरु सामाजिक सञ्जालमा आइरहे । जसले नेपाल कति मिथ्या सूचना र समाचारबाट कति प्रताडित बनिरहेको छ ? प्रष्ट थाहा हुनछ । जेनजी आन्दोलनमा संसद् भवनभित्र ३२ जना बच्चा मारेर फालेको रहेछ, हे भगवान् !’ अमेरिका रहेका टंक दाहाल, केही इन्फ्लुएन्सर वा सञ्जालको कुनै पेजले फैलाएको अफवाहले पुरै देश र विश्व समुदाय तंरगित बनिरह्यो । धेरैले कमेन्टमा गएर श्रद्धाञ्जली र ‘रिप’ लेखे। त्यस्तो पोस्टमा नागरिक उत्तेजित हुने नै भए, जो बानेश्वर हत्याकाण्डबाट पहिल्यै द्रवीभूत थिए। (स्मरणीय छ, बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि र आसपास नै १९ जना प्रदर्शनकारीको हत्या) भएको थियो । युट्युबर भाग्य न्यौपानेले पत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर सहित युट्युवमा उत्तेजित अभिव्यक्ति दिइरहे । न्यौपाने तिनै व्यक्ति हुन्, जसले मंगलबारको आन्दोलनमा आगजनी र तोडफोडका लागि उक्साए। केपी ओली समर्थित कुनै पालिका अध्यक्षको घरमा ५० किलो सुन भेटिएको भन्दै उनले फैलाएको अफवाह अहिलेसम्म पुष्टि हुन सकेको छैन । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारबारे केही ‘चलेकै’ अनलाइनले त्यस्तै अफवाह फैलाए । त्यही अफवाहलाई पत्याए । कतिपय पत्रकार र सम्पादकहरूले नै त्यसलाई पत्याइरहे । तर उनी यी पङ्क्ति लेख्दा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा उनी गम्भीर घाइते भएकी थिइन् । गत मंगलबार साँझतिर पशुपतिबारे सञ्जालमा अर्को अफवाह फैलाइयो । संजालमा ‘राजा आएर सत्ता ल्याउँछन्’देखि ‘भारतीय सेना नेपाल छिरिसक्यो’ भन्ने खालका अफवाहहरू पनि यसबीच नै आए ।

मिथ्या सूचना समाज र देशका लागि निकै खतरानक कुरा हो । सीमित व्यक्ति, समूह र पार्टीको स्वार्थका लागि यस्तो विषयले अहिले अनेकन तरंग सिर्जना गर्ने गर्छ । इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो । तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो । सोसल मिडियामा नराम्रो मात्रै छ भन्ने कुरा गलत हो । अहिले हरेक मानिसले खिचेका अनि सञ्जालमा राखेका भिडियो सार्वजनिक रूपमै उपलब्ध हुन्छ नै जुन डेटाबेसमार्फत खोजेर पत्ता लाग्न सकिन्छ । हरेक कुरामा राम्रो र नराम्रो दुवै पक्ष हुन्छ, हामीले राम्रोलाई पछ्याउनु पर्छ । अब मिडिया नागरिक साक्षरता पनि बढाउनु पर्छ । र समाजमा डिजिटल माध्यमहरुको माग सँगै आउने जो कोहीलाई राज्यको प्रणाली भित्रबाट आउने सहज बातावरण बनाउनु पर्छ ।