सम्पादकीय
आमा धर्ति माता, जननी सृष्टिकर्ता या जे नाम दिऔं । कुनै शब्दमा आमाको अर्थ र महत्व सीमित हुँदैन । तर, नेपालको पितृ सत्तात्मक सत्ता र समाजको चिन्तनले आमा र महिलाहरु प्रति गरिने विभेदयुक्त व्यवहार आज पनि सर्वथा न्यायोचित छैन । यसको एक उदाहरणको रुपमा लामो समयदेखि आमाको नामबाट आफ्नै सन्तानले पनि नागरिकता नपाउने समस्या बिद्यमान थियो । आमाको नामबाट नागरिकता लिन चरम सास्ती र सकस बेहोर्नुपर्ने अवस्थाबाट आमा र सन्तानहरु प्रताडित भइरहेका थिए । आमाको नामबाट नागरिकता प्राप्तीका लागि सम्बन्धित कार्यालय जाँदा कर्मचारीले गर्ने आनाकानी र देश विदेशमा रोजगारी या अध्ययन पेशा व्यवसायका लागि अपरिहार्य नागरिकताले उनीहरु माथि ठुलो अन्याय भइरहेको थियो । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था विधेयकमा नहुँदा त्यसलाई कारण देखाएर आमाको नामबाट नागरिकता नदिने नजिर जबरजस्त स्थापित गरिएको थियो ।
आमाको नामबाट नागरिकता पाउने कानुनी व्यवस्थाका लागि विगत लामो समयदेखि पहल र प्रयास त गरिएका थिए । नेपालको संविधान २०७२ ले आमाको नामबाट समेत नागरिकता जारी हुन सक्ने भनेको छ । तर, व्यवहारमा लागु हुन सकिरहेको थिएन । तर, सुखद खबर र सकारात्मक कदमले सार्थकता पाएको छ कि आमाको नामबाट नागरिकता लिने भए बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था अब अन्त्य भएको छ । कुनै पनि व्यक्तिले आमाको नामबाट नागरिकता लिने भए उसले वा उसकी आमाले बाबुको पहिचानबारे स्वघोषण गर्नुपर्ने विषय विधेयकमा उल्लेख छ । विघटित प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब आमाले स्वघोषणा गरेपछि सन्तानले सहजै नागरिकता प्राप्त गर्न सक्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । योसँगै आमाको नामबाट नागरिकता जारी हुनसक्ने गरी ऐन बनेको छ । जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको पहिचान खुलाउन नसकेको भनी आमाले स्वघोषणा गरेपछि सन्तानले नागरिकता प्राप्त गर्नेछन् । यसमा अर्को विषय यदि सन्तानले आमा र बाबुमध्ये एकजनाको नाम र थर मात्रै नागरिकतामा लेख्न चाहेमा समेत पाउनेछन् ।
बाबु पत्ता नलागेको वा अन्य कारण देखाएर नेपाली आमाबाट जन्मिएका सन्तान नागरिकता प्राप्त गर्न नसक्ने दुर्भाग्यपूर्ण अवस्था विद्यमान थियो । यसलाई चिर्दै नयाँ ऐनले आमालाई सन्तानको पूर्ण अधिकार दिएको छ । नयाँ ऐनअनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन रहेको वा बाबुको पहिचान हुन नसकेको अवस्थामा नागरिकता पाउन सक्नेछन् । आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको अवस्थामा स्वघोषणा गरेपछि आमाको नामबाट नागरिकता जारी हुने कुराले अब कुनै पनि नेपाली आमाबाट जन्मेका सन्तानहरू नागरिकताबाट बञ्चित हुने छैनन् । कोही पनि नेपाली नागरिक नागरिकताविहीन बन्नु नपर्ने सुनिश्चितता हुन सुखद कुरा हो । यसले सिंगो आधा आकाश मानिएका आमा (महिला)हरुको अधिकार र आत्मसम्मानलाई यथोचित रुपमा कदर गरेको छ । जसले नेपाललाई थप गतिशील मुुलुकको रुपमा आफुलाई एक कदम अघि दर्ज समेत गरेको छ । अब यसको प्रभावकारी कार्यान्वयनमा सबैले सकारात्मक रुपमा भूमिका भने खेल्न आवश्यक छ ।
