म्याग्दी । बडादशैं, तिहार तथा छठको पूर्वसन्ध्यामा म्याग्दी बेनीको कालीपुल बसपार्कमा सोमबार जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको छ । म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुने उक्त वसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरीएको हो ।
चाडपर्व नजिकिँदै गर्दा घरतर्फ जाने यात्रुको चाप बढ्ने र सोही समयमा यातायात व्यवसायीहरुले भाडादर मनलाग्दी लिने गरेको गुनासो आउने गरेको हुनाले यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले ट्राफिक कार्यालय संगै सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।
चाडपर्वमा सर्वसाधारणसँगै पवित्र तिर्थस्थल मुस्ताङको मुक्तिनाथ तथा दामोदरकुण्ड जाने आउने तीर्थयात्री एवम् पर्यटकलाई सहजीकरण गर्ने उद्देश्य सहित यातायात व्यावसायीको समेत सहजिकरणमा सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको भनाई थियो । सहायता कक्ष दसैँ, तिहार र छठ पर्वको अवधी सम्म रहने उहाँको भनाइ छ । बेनी सँगै मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
सहायता कक्षको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारले सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिएको बताउनुभयो ।
