• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

बागलुङ । हिमालपारीको जिल्ला मुस्ताङबाट बडादशैंलाई लक्षित गरी च्याङ्ग्रा भित्रिएका छन् । मुल्यवृद्धिभएसंगै थोरैमात्रमा बागलुङमा च्याङ्ग्रा भित्रिदै आएका छन् ।

बागलुङ जिल्ला सदरमुकाममा अहिले सम्म जम्मा एक सय मात्रै च्याङ्ग्रा भित्रिएको पाइएको छ । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडा दशैं र तिहारमा बढी खपत हुनेगरेको छ ।

दशैंमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारीबाट दशैंका लागि घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेका छन् । बागलुङबाट वर्षेनी मुस्ताङ पुगेर च्याङ्ग्रा भित्राउदै आउनुभएका उपल्लाचौरका बल बहादुर थापाले यस पटक जम्मा २९ वटा मात्रै च्याङ्ग्रा भित्राएको बताउनुभयो ।

उहाँले ३५ हजारदेखि ३७ हजारसम्म च्याङ्ग्रालाई व्यापार गरिरहेको बताउनुभयो । च्याङ्ग्राको मासु काटेर प्रतिकेजी दुई हजार सम्ममा बिक्री गर्दे आएको बताउदै थापाले मुल्य वृद्धि भएकाले पछिल्लो समय च्याङ्ग्राको मासु कम मात्रै खपत भएको अनुभव सुनाउनुभयो ।

“स्थानीय खसीबोकाकै मासु बढी खपत भइरहेको छ, दशैंमा च्याङ्ग्रा खाने परम्परा भएपनि मुल्यका कारण सबैले खान सक्ने अवस्था छैन धनाढ्ले मात्रै च्याङ्ग्रा खाने गर्दछन्” थापाले भन्नुभयो “मुस्ताङ पुगेर चार दिन लाएर बागलुङ च्याङ्ग्रा ल्याएको हो, रोज्जा च्याङ्ग्राको मुल्य ३७ हजार पर्ने गरेको छ ।” थापाले पहिला जस्तो च्याङ्ग्रा व्यापारमा नापा नभएको बताउनुभयो ।

थापासंगै बागलुङका ज्ञानेन्द्र बहादुर कार्की र महेन्द्र बहादुर कार्कीले सयम यस पटक ३०र३० गरी ६० वटा च्याङ्ग्रा भित्राउनुभएको छ । बागलुङ बजारमा मासु पसल सञ्चालन गर्दै आएका केसीले लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने कामलाई निरन्तरता दिइराख्नुभएको छ ।

च्याङ्ग्राको आयात थोरै हुँदा मुल्य बढेको उहाँको भनाई छ । मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् । गोठबाट उतैका व्यापारीले च्याङ्ग्रा मुस्ताङको सदरमुकाम जोमसोम ल्याउने र आफूले त्यहाँबाट आफूहरुले खरिद गरेको केसीले जानकारी दिनुभयो ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाई छ । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा बागलुङ झारिएको छ ।