• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

दसैँले गाउँमा फर्कायो खुसी

बागलुङ । रोजगारी, बसाई सराई तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँहरु उजाडिएका छन् । गाउँका प्राय घरहरुमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढा–बुढी मात्रै छन् । गाउँका अधिकांश घरमा बुढा बुढी मात्रै छन् । तर उक्त गाउँको खुसी दशै संगै फर्किने गरेको छ । अहिले गाउँमा दशैको रमझमले गाउँ चलायमान बनेको छ ।दसैं शुरु भएपछि बागलुङको सिगाना स्थित रण कुमारी कार्की जस्तै बुढाबुढीको खुसी फर्केको छ । दसैं आएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दसैं मान्न घरमा आउने क्रम जारी रहेको छ ।

“जागिर, व्यवसाय तथा अध्ययनका कारण गाउँमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्” कार्कीले भन्नुभयो “तर दसैं तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैंले गर्दा खुसी फर्किएको छ ।”

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा वृद्धि भएको छ । झार उम्रेका घर आगन समेत गोड मेल भएर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको स्थानीय भद्र बहादुर कार्कीले जानकारी दिनुभयो । “दसैँमा छोरा नाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” कार्कीले भन्नुभयो “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशै तिहारमा त छोरा बुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दसैं ।”

बसाइँसराइले बन्द रहेको घरमा समेत अहिले दसैं मनाउन फर्केकाले सरसफाई गरेर चिटिक्क बनाएका छन् । अघि पछि गाउँको खुसीनै लुटिएपनि दसैं आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताउनुभयो । उहाँले बढ्दो शहरीकरणका कारण र बसाई सराईका कारण गाउँहरु बिस्तारै उजाडिदै गएको बताउनुभयो ।

नेपालीहरुको मुख्य चाडपर्वको रुपमा रहेको दशैं, शुभदिपावली छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरुले बताएका छन् । गाउँ जाने यातयातका साधनहरुले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन् ।

दशैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाई गर्ने प्रचलनले दशंैमा खोसिएको गाउँको खुसी फर्कन्छ ।