सम्पादकीय
नेपालीहरुको महत्वपूर्ण चाड बडा दसैँ अर्थात् विजया दशमीको दिन नजिकिएको छ । उसो त दसैँको आगमनसँगै हर्षोल्लासको वातावरण हुने नेपालमा यसवर्ष भने उति धेरै उल्लासमय छैन । कारण भर्खरै मात्रै देशले जेनजी आन्दोलनमा ठुलो मानवीय तथा भौतिक क्षति बेहोरोको छ । जेनजी विद्रोहमा देशभरमा ७४ जनाको ज्यान गएको छ भने खर्बौको सरकारी, सार्वजनिक र निजी सम्पत्ति आगजानी, तोडफोड गरिएको छ । यसबिच पुरानो सत्ता बहिगर्मन त भयो । तर, त्यसपश्चात शुरु भएको संवैधानिक शून्यताले सैनिक शासन, राजतन्त्रको पुर्नआगमन लगायतका अनेकन भय,सन्त्रासका बाबजुद प्रतिनिधि सभा विघटन गरिए पनि संविधानकै जगमा पूर्व प्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । जसले ६ महिना भित्र चुनावी अभिभाराका साथै जेनजी आन्दोलनको भ्रष्टाचार अन्त्य र आन्दोलनमा दमन तथा ध्वंसमा संलग्नहरु माथि छानविन र कारबाहीको अन्र्तयमा रहेर काम गर्ने जिम्मेवारी छ ।
देशको केही जटिल अवस्थाका बाबजुद अरु बेला जस्तो चहल पहल नभए पनि दसैँको रौनकता भने देशभर देख्न सकिन्छ । देश विदेशबाट आफ्नो जन्मघर पुग्नेहरुका कारण बसपार्क, सार्वजनिक सवारी साधन प्रतीक्षालयहरुमा मानिसहरुको भिडभाड छ । गत असोज ६ गते घर घरमा जमरा राखेर विधिपूर्वक घटस्थापना अर्थात् घडा स्थापना गरी शक्तिस्वरुपा दुर्गाको पूजा आराधना सुरु भएसँगै दसैँको प्रारम्भ भएको थियो । अब घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । यो क्रम पूर्णीमाको दिनसम्म जारी रहन्छ । पूर्णिमाको दिन दसैँको टिका जमरा बिसर्जन गरेसँगै दशैँ समापन हुनेछ । हिन्दु नेपालीहरुले बडा दसैँ मनाउनुका पछाडि धेरै किम्बदन्ती र जनश्रुतिहरु छन् । मुख्यतः हिन्दु धर्मग्रन्थमा दसैँलाई रावणमाथि रामको अर्थात् असत्यमाथि सत्यको विजयको रुपमा प्रतीकका रुपमा मनाइन्छ । दसैँको यो ऐतिहासिक पक्ष त आफ्नो ठाउँमा छँदैछ, यसका सामाजिक साँस्कृतिक पक्षहरु धेरै छन्, जसले नेपाल र नेपाली बिचको एकता, भातृत्व, सद्भावलाई हरेक वर्ष पुनर्ताजगी गरिदिन्छ । के धनी के गरिब, के ठुला के साना सबैले आफ्नो शक्ति र गच्छे अनुसार बडो श्रद्धा भक्तिसाथ दसैँ पर्व मान्ने गर्दछन् । उसो बिजया दशमीका दिन मान्यजनबाट आर्शिवाद ग्रहण गर्ने र आफू भन्दा सानालाई आर्शिवाद प्रदान गर्ने संस्कार पनि उत्तिकै महत्वपूर्ण छ । शान्ति, सुख र समृद्धिको मानवीय चाहना सामाजिक–सांस्कृतिक सद्भावबाट मात्र पूरा हुन सक्छ । यसका लागि असत्य माथि सत्य र खराब प्रवृत्ति माथि असलले विजय प्राप्त गर्ने जीवनशैली अनुशरण गर्न प्रेरित गर्ने बडा दसैँको शुभ सन्देश सदा सर्वदा जीवनोपयोगी छ ।
बडा दसैँ हिन्दु धर्मावलम्बीको महान पर्व त हो नै, यस पर्वले पछिल्लो समय अरु धर्मालम्बीलाई पनि खुशी र उत्साह दिलाइरहेको छ । यसवर्ष देशको परिस्थितिले हरेक नेपालीको मनमगजमा केही खल्लोपनाको आभाष भइरहेको छ । यद्यपि, भारतीय नाकाबन्दी, भूकम्प, कोरोना जस्तो खराब परिस्थिति र विपद्हरुको पनि नेपालीले सामना गरिसकेका छन् । दुःख, अप्ठ्याराहरुमा पनि कसरी खुशी हुने त्यो सामथ्र्य र शक्ति नेपालीहरुमा छ । बडा दसैँ पर्व एक प्रकारको मेलमिलापको पर्व पनि हो । यसले आपसी एकता, भाईचारा र मेलमिलाप कायम गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । आजको कठिन परिस्थितिमा धैर्यता, संयम्ता सहित चाडपर्व मनाउनु पर्ने अवस्थामा छौ । धेरै भड्किलो रुपमा नभई परिवार, आफन्त र समाजमा सामाजिक सद्भाव, एकता र भातृत्व अभिवृद्धि हुने गरी मनाऔं । यस पर्वले हामी सबैलाई नेपाल र नेपाली प्रति अझ बढी कर्मठ, इमान्दार, जिम्मेवार र जवाफदेही बन्न बनाउन प्रेरणा मिलोस्, बडा दसैँको तपाईँ सम्पूर्णमा हार्दिक शुभकामना ।
