• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

म्याग्दी प्रशासनले भन्यो चार दिन राती नहिड्नु

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज १७ शुक्रबार देखि २० गते सोमबारसम्म अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा रातीमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक सूचना जारी गर्दै गण्डकी प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । प्रशासनले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखा गण्डकी प्रदेशलाई धेरै बर्षा हुने सूचीमा राखेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रशासनले विशेषगरी यात्रा गर्नु अगाडी मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न तथा साँझ ६ बजे अगाडी नै सुरक्षित स्थानमा पुग्न समेत आग्रह गरेको छ । विपद्को जोखिम भए तत्काल पूर्वतयारीमा जुट्न, सञ्चारका उपकरण अधिक बर्षा हुने समय अवधिभरलाई खाद्यान्न ब्यवस्थापन गर्न, पदयात्रामा निस्किएकालाई सूचना दिन प्रशासनले भनेको छ ।

त्यस्तै स्थानीय तहले पूर्व तयारी तथा आपतकालिन उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्स सहित सवारीसाधनलाई समेत तयारी अवस्थामा राख्न समेत सार्वजनिक सूचना मार्फत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

प्रजिअ तिवारीका अनुसार म्याग्दी र मुस्ताङमा यात्रा गर्ने यात्रुले विशेष ध्यान दिनु पर्नेछ । उक्त सडकखण्डमा बाढीपहिरोले समस्यामा पर्न सकिने भएकाले उचित सूचना लिएर मात्रै यात्रा गर्न उहाँको अनुरोध छ । जिल्लाका मुख्य म्याग्दी, कालिगण्डकी, रघुघाट नदी सहित साना खोला–नालामा आकस्मिक बाढी आउन सक्ने, पहिरो तथा भू–क्षयजस्ता विपद्लाई मध्यनजर गरी तटिय क्षेत्रमा समेत आवतजावत अत्यावश्यक बाहेक रात्रीकालीन समयमा सवारी संचालन नगर्न समेत प्रजिअ तिवारीले आग्रह गर्नुभएको छ ।