सम्पादकीय
नेपालीहरुको महान् पर्व दसैँका बेला देशभर भारी वर्षा भयो । भारी वर्षाका कारण जनजीवन प्रभावित बन्यो । गत शुक्रबारदेखि देशभर परेको भारी वर्षाका कारण पहिरोमा पुरिएर, बाढीले बगाएर हालसम्म कम्तीमा पनि ५० जनाको बढीको ज्यान गयो । सबैभन्दा धेरै परेमध्ये इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ । देशभरका राजमार्गहरू बन्द भए । दसौं करोड खर्चेर बनाइएका बीपी राजमार्गका डाइभर्सन फेरि बगे । देशका मुख्य राजमार्गहरूमा पहिरोको जोखिम बढेपछि सरकारले आवागमन नै रोक्नुप¥यो । आइतबार र सोमबार सार्वजनिक बिदासमेत दियो । राजमार्गमा आवागमन रोक्नु र बिदा दिनु जोखिमबाट बचाउने एउटा उपाय हो । यसअघि मात्रै काठमाडौं भित्रिने धादिङको झ्याप्ले खोलामा ३ वटा यात्रुबहाक बस पहिरोमा पुरिँदा ३० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । राजमार्गहरूमा गाडी नरोकिएका भए यसपाली त्यस बेलाको भन्दा बढी क्षति हुन सक्थ्यो । भौतिक पूर्वाधारकै कुरा गर्दा ठूलो क्षति जलविद्युत् आयोजनाहरूमा भएको छ। १० जिल्लाका ३२ जलविद्युत् आयोजनालाई बाढी र पहिरोले प्रभावित पारेको छ । यसले एकपटक प्रकृतिको शक्ति र त्यसका सामु हाम्रो तयारीको अवस्थाबारे सोच्न बाध्य बनाएको छ । प्रारम्भिक तथ्यांक अनुसार १ सय ८० मेगावाट क्षमताका १७ वटा जलविद्युत् आयोजनामा क्षति पुगेर विद्युत् उत्पाद नै ठप्प भएको छ । ३ सय ३८ मेगावाट क्षमताका १५ वटा निर्माणाधीन आयोजना पनि बाढीबाट प्रभावित भएका छन् ।
पूर्वसूचना प्रणाली कमजोर हुँदा बर्सेनि नेपालले ठूलो क्षति बेहोर्दै आएको हो । यसपाली भने पूर्वसूचना केही न केही प्रभावकारी थियो । सरकारले बेलैमा राजमार्गहरूमा आवागमन नरोकेको भए निधन हुनेको संख्या जति पनि पुग्न सक्थ्यो। जल तथा मौसम विज्ञान विभागले दिएको सूचना धेरै हदसम्म भरपर्दाे देखिएको छ । तर, पनि राजमार्ग र जलविद्युत् आयोजनाहरू जोगिन सकेनन् । समयमै सतर्कता अपनाउँदा केही न केही जोखिम कम भएको छ । यसका लागि सरकार र मौसम विभाग धन्यवादका पात्र छन् । विभागले यसपाली जुन ढंगले मौसमको पूर्वानुमान गरेर बेलामा सूचना दियो, त्यसबाट धेरै धनजनको क्षति हुन रोकिएको पक्कै हो । जबकि, जति क्षति र नोक्सानी भएको छ, त्यो पनि दुः खद् भने हुँदै हो । मनसुनी प्रणाली अब नेपालबाट बाहिरिएको छ । यसको मतलब अब भने पानी पर्दैन भन्ने हो । भत्किएका सडक भने छँदैछन्, तिनमा गरिने यात्रा भने अझै कष्टकर नै हुनेछ । सरकारले जोखिम कम गराउँदै सवारीसाधनको आवागमनलाई खुला गरेको छ । तर, अझै सकर्त हुन भने पर्छ नै । पानी परेपछि पनि जब घाम लाग्छ, तब पहिरो जाने गर्छ। त्यसैले पानी नपर्दैमा जोखिम हुँदैन भन्न सकिन्न । पहिरो जहाँ पनि जान सक्छ । यसपालीको भारी वर्षाले पनि उसैगरी धेरै पाठ पढाएरै गएको छ । जताततै बाटोघाटो बनाउने गर्दा पहाडका भित्ताहरू खसेका छन्, तिनैले पहिरो चलाएर मृत्यु निम्त्याए ।
काठमाडौं उपत्यकामा जुन डुबान भयो, त्यो अव्यवस्थित बसोबासको परिणाम हो । काठमाडौंको अव्यवस्थित सहरीकरणले परम्परागत पानी व्यवस्थापन प्रणालीलाई पूर्णरूपमा ध्वस्त पारेको छ । कुलो, पोखरी र खोल्साहरूलाई हामीले सडक र घरमा परिणत गरेका छौं । जग्गा प्लटिङ गर्दा दुई–तीन फिटको ह्युम पाइप राखेर पानीको समस्या समाधान हुन्छ भन्ने भ्रम पालेका छौं । व्यापक सिमेन्टको प्रयोगले जमिनले पानी सोस्ने प्रक्रिया घटेको छ । अव्यवस्थित बसोबास, जथाभाबी तयार पारिएका संरचना र पानी बग्ने ठाउँको अवरोध जस्ता कारणले डुबान भएको हो । हामीले पानी बग्ने नदी मिचेर नालामा परिणत गरेका छौं । र, कतिपय ठाउँमा त्यही नाला पनि मिचेका छौं । पानीले आफ्नो बाटो खोज्छ, जब निकास पाउँदैन अनि ठेलिन्छ र डुबान हुन्छ । यत्ति बुझेर सहरलाई व्यवस्थित बनाउन लागेनौं भने भोलिका दिनमा झन् ठूलो जोखिम पक्कै बेहोर्नुपर्ने हुन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।
