सम्पादकीय
अहिले नेपालमा मात्र होइन, विश्वभर एक शब्दले तहल्का मच्याइरहेको छ जेनजी । जेनजी विद्रोहले बंगलादेश हुँदै नेपाल सम्म चामत्कारिक बदलाव ल्याइदियो । वर्षौदेखि गणतन्त्र, संघीयताका नाममा सत्ताको रजगज चलाइरहेकाहरु सत्ता छोड्ने मात्र होइन, ४५ घण्टाकै अन्तरालमा भागाभागको अवस्थामा पुगे । जनताको अभूतपूर्व साथ समर्थनमा भएको २०६२÷६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनलाई बिर्साइदियो । जेनजी (१३ देखि २८ वर्ष) उमेर समूह, जो राजनीतिमा खासै चासो राख्दैनथे, सत्ता बागडोरमा उनीहरु कुनै हकदाबी गर्दैनथे । तर, जेनजी आन्दोलनमा सत्ताले यति क्रुर तबरले छाति र टाउकोमा गोली हान्दै जसरी दमन ग¥यो, यसको प्रतिफल केपी ओली नेतृत्वको संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारका लागि मात्रै महँगो परेन, पुराना परम्परागत राजनीतिक शक्तिहरुका लागि पनि निकै महँगो बन्यो । पुराना राजनीतिक दल र पुराना नेताहरु एकाएक किनाराकृत बन्ने अवस्था पैदा भयो । जसले अबको नेतृत्वमा नवीन पुस्ताको जोडदार माग गरेको छ ।
नेपाली राजनीतिमा दुर्भाग्यपूर्ण नियति थियो कि सत्ता केही औंलामा गणना गर्न सकिने शीर्ष तीन नेताहरुको खेल मैदान जस्तो बनिरहेको थियो । देश म्युजिकल चियर जस्तो र त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालो बस्ने प्रवृत्तिले मुलुक आक्रान्त थियो । त्यसबाट आजित जेनजी पुस्ताले मौनता तोड्दै ठुलो विद्रोह ग¥यो । जसले पुराना दल र नेतृत्वलाई गम्भीर समीक्षा र पार्टी पुर्नगठन गर्नुपर्ने अनिवार्य विन्दुमा पु¥याइदिएको छ । तर, अझै पनि नेपाली कांग्रेस, नेकपा एमालेको पार्टी नेतृत्व र पार्टी सत्ता चलाइरहेकाहरु नेतृत्व हस्तान्तरणमा इच्छुक देखिरहेका छैनन् । उसो त नेपालका राजनीतिक नेताहरूको शाहकालका राजाहरूजस्तै बाँचुन्जेल पदमै बसिरहने लोभ र आशक्तिले सिंगो राजनीतिलाइै नै ‘बदनाम’ बनाएको छ । बिडम्बना, यो यथार्थ उनीहरू र तिनकै आसेपासे, स्वार्थ समूहमा लाभ हासिल र रमाइरहेकाहरुले स्वीकार्न गर्न अझै पनि तयार छैनन् । फेरि पनि अनेक कुतर्क र ताण्डव देखाएर पार्टी सत्तामा अझै कब्जा जमाउने दुश्प्रयासमा लागिरहेको बुझ्न सकिन्छ । भलै दोस्रो तेस्रो पुस्ताका केही नेताहरुले यसका लागि बहस तीव्र बनाइरहेका छन् ।
समय गतिशील छ । जसले समय र देशको गतिशीलता बुझ्न र बोध गर्न सक्दैन, उनीहरु यो देशको नेतृत्व गर्न असक्षम हुन्छन् । त्यो अहिलेको जेनजी आन्दोलनले देखाइसकेको छ । अब नेपालमा शासन गर्ने हो भने समयसापेक्ष बदलिनु आवश्यक छ । जेनजी आन्दोलन पश्चात पुराना दलका पुराना नेताहरु नेतृत्व पुस्तान्तरणका लागि तत्पर नभएता पनि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीको नेतृत्व छाड्ने घोषणा गरे । परिवर्तनको मागलाई आत्मसात गरेर उनले अरू नेतालाई बाटो देखाएका छन् । आधा जनसंख्या रहेको नवयुवा समूहको सन्देशलाई शिरोपर गर्ने निर्णयको इतिहासमा पनि सराहना हुनेछ । अरु राजनीतिक पार्टीमा पनि यही खालको निर्णय र मार्गप्रशस्तीको अपेक्षा थियो । ठूला दलका शीर्ष नेताहरू दाहाल, ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भट्टराईले जस्तै समयको पदचाप सुन्ने मौका पाएका छन् । यो बाटो उनीहरू स्वंयम्का लागि, देश तथा तिनका पार्टीहरूका निम्ति पनि बढी सुरक्षित र सम्मानजनक हुनेछ । समयको पदचाप पछ्याएर बुद्धिमानी देखाउने कि पार्टी नै विघटनको दुश्चक्रमामा पार्ने ? यो भने उनीहरुकै हातमा छ ।
