म्याग्दी । स्थानीय स्तरमा खेलकुद गतिविधि विकास गर्नका लागि बेनी नगरपालिका–४ सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोग तथा स्थानीयबासीको श्रमदानबाट भवन निर्माण भएको हो ।
खेलकुद, सामाजिक र सांस्कृतिक कार्यका लागि उचित स्थान नभएको हुँदा कवर्डहल निर्माण गरीएको हो ।
नगरपालिकाको १० लाख तथा उपभोक्ताहरुले थप तीन लाख ७० हजार बराबरको श्रमदान गरेर कबर्डहल निर्माण गरिएको निर्माण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अपुग दुई लाख बराबरको रकम वडा कार्यालयले भुक्तानीका लागि नगरपालिकामा सिफारिस गरेको छ । पर्याप्त बजेटको ब्यवस्था नहुँदा कबर्डहल निर्माण सम्पन्न हुनका लागि चार वर्ष लागेको अध्यक्ष पौडेलले बताउनुभयो ।
राजीकुलो किनारमा पक्की तटबन्ध बनेपछि खाली सार्वजनिक जग्गा सम्माएर फलामको पिलर ठडाएर जस्तापाताले बारेर कवर्डहल बनाइएको छ । सिमित स्रोतको परिचालन गरेर मितब्ययी किसिमले कवर्डहल बनाएको निर्माण समितिले जनाएको छ ।
सोही कवर्डहलको उद्घाटन सहित शुक्रबारदेखि ब्याडमिन्टन प्रतियोगिता समेत शुरु भएको छ । बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले उक्त कबर्डहलको उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा बोल्दै उहाँले स्थानीयबासीहरुलाई फुर्सदको समय सदुपयोग र शारिरिक कसरतका लागि ब्याडमिन्टन खेल अभ्यास गर्न, प्रतियोगिता आयोजना गर्न, बिवाह, ब्रतबन्ध, भेला, बैठक गर्न सुविधा पुगोस भन्ने उद्देश्यले कवर्डहल बनाएको बताउनुभयो ।
कवर्डहलमा शुक्रबारदेखि सिंगा ब्याडमिन्टन संघको आयोजनामा प्रथम मनप्रसाद, इन्दु स्मृति पुरुष डि –लेभल ब्याडमिन्टन कप प्रतियोगिता शुरु भएको छ । बेनी नगरपालिका–४ को कार्यालय र जनचेतना युवा क्लवको सहयोगमा प्रतियोगिता शुरु भएको हो । कवर्डहल र ब्याडमिन्टन प्रतियोगिता उद्घाटन कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन देवेन्द्र चोखालले गर्नुभएको थियो ।
