बागलुङ । लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ । बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ बर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ । बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क उद्घाटन यता समेत नियमित बस चल्न नसकेकोमा नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई प्रदान गरेपछि बस छ्ट्न थालेका छन् ।
बागलुङ नगरपालिका–४ स्थित दाबगरामा पाँच वर्ष अघि निर्माण सम्पन्न गरिएको बसपार्कबाट एक महिना यता लामो तथा छोटो दुरीका बस छुटाइएको छ । यसअघि सञ्चालनमा आएको चिप्लेटी बसपार्क बन्द गरेर नयाँ बसपार्क व्यवस्थापनका लागि २५ वर्षका लागि निजी क्षेत्रलाई जिम्मा दिएपछि बस चल्न थालेका हुन् । बस चल्न थालेपछि जग्गा दाता खुसी भएका छन् ।
बागलुङ नगरपालिकाले रु. ९ करोड खर्चेर निर्माण गरेको बसपार्कलाई एक वर्षदेखि बसपार्क चलाउन थालिएको प्रयास सफल भएको नगप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । बसपार्क सञ्चालनका लागि पुरानो चिप्लेटी बसपार्कमा भएका सबै टिकट काउन्टर नयाँ बसपार्कमा सारिएको छ ।
बागलुङ नगरपालिकाले बसपार्क क्षेत्रमा सेवा शुल्क संकलन तथा व्यवस्थापनका निम्ती आर.बि. कन्स्ट्रक्सन पोखरासँग सम्झौता गरेपछि बसपार्क सञ्चालनमा ल्याउन थालिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्मा र आर.वि. कन्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजाल बीच २५ वर्ष बसपार्क व्यवस्थापनको जिम्मा दिएपछि बसपार्कबाट बस छुट्न थालेका हुन् ।
बागलुङ नगरपालिकाको आन्तरिक आय जम्मा गर्नको लागि स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ को उपदफा २ बमोजिम नगरपालिकाको बसपार्क व्यवस्थापन ऐन २०८१ र आर्थिक ऐन २०८२ मा व्यवस्था भए बमोजिम नगरपालिकाले तोकेको दरमा कर संकलन प्रयोजनार्थ उक्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।
बसपार्क संचालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कुल रु.८ करोड ५५ लाख ६१ हजार १ सय ७२ नगरपालिकालाई भुक्तानी गर्नेछ । जसको बार्षिक झण्डै रु.१६ लाख २५ हजार नगरपालिकालाई कन्स्ट्रक्सनले भुक्तानी दिने छ । सम्झौता पत्रमा सवारी साधन पार्किङकको दररेट समेत नगरपालिकाले कायम गरेको छ सोही अनुसार कन्स्ट्रक्सनले उठाउने छ र नगरपालिकालाई भुक्तानी दिने छ ।
कुल १७ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधा सम्पन्न भवन र २३ वटा सटर ३ वटा टिकट काउण्टर, ५ वटा शौचालय, इभी चार्जर जडान गर्ने स्थान लगायतका संरचना निर्माण भएका छन् । बसपार्कका सटरहरुको ३ हजार ५ सय देखी १० हजार सम्म मासिक भाडा कायम गरिएको छ ।
सवारी साधन अन्तरगत रात्री बसको पार्किङ शुल्क २०० देखी मोटरसाईकलको १० रुपैयाँ सम्म पार्किङ शुल्क तोकिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
२०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको थियो । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ ।
