• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

तंग्राम स्वास्थ्यचौकी भवन अधुरै, पाहुनाघरबाट सेवा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित तंग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो बनेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।

तंग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापन पछि निर्माण थालिएको भवन अधुरै रहेको छ । अहिले सम्म तंग्राम स्वास्थ्यचौकीको आफ्नै भवन नहुँनु दुखद् रहेको भन्दै स्थानीयको अगुवाईमा धाक खोलामा सात रोपनी जग्गा व्यवस्थापन पछि निर्माण थालिएको भवन निर्माण अलपत्र जस्तै बनेको हो ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाको समन्वयमा सात लाख र तंग्रामकै पूर्व वडा अध्यक्ष केशव थापाको व्यक्तिगत रु.तीन लाख गरी रु. १० लाखमा जग्गा खरिद गरेर संघीय सरकारको रु.३८ लाखमा भवन निर्माण थलिएपनि गत असारदेखि काम ठप्प छ भने भवन अहिले अलपत्र जस्तै देखिएको छ ।

पाहुनाघरबाट सेवा दिइरहेको आधारभूत स्वास्थ्यचौकी

संघीय सरकारको रु. ३८ लाख लागतमा उपभोक्ता समिति मार्फत भवन मिर्नाण थालेपनि गत वर्ष चैतमा मात्रै गाउँपालिकासंग सम्झौता गर्दा पुरै बजेट समेत खर्च गर्न नसक्दा समस्या भएको जग्गा व्यवस्थापक तथा पूर्व वडा अध्यक्ष केशव थापाले जानकारी दिनुभयो । स्वास्थ्यचौकी नबन्दा थापाले जनताको सेवाका लागि आफ्नो कार्यकालमा रु.३३ लाख खर्चेर निर्माण गरेको पाहुना घरमा स्वास्थ्य चौकीको सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।

२०८१ चैत ३१ गते सम्झौता भएर असारमा काम सक्नुपर्ने भएकाले रु. ३८ लाख बजेटमा जम्मा रु.३३ लाख ६५ हजार मात्रै खर्च भएको केशव थापाले बताउनुभयो । “काठखोलामा आफ्नै स्वास्थ्य चौकी नभएको तंग्राममा मात्रै हो, त्यसैले जसरीपनि स्वास्थ्यचौकी बनाउनुपर्छ भनेर लागियो, रु. १० लाखमा सात रोपनी जग्गा मेरै अगुवाईमा व्यवस्थापन भयो, तर संघीय सरकारले स्वास्थ्यचौकी निर्माणका लागि पठाएको बजेट गाउँपालिकाले ढिलो सम्झौता गर्दा सबै बजेट कार्यान्वयन भएन” थापाले भन्नुभयो “तंग्राम ठूलो गाउँमा आफू वडा अध्यक्ष हुँदा निर्माण गरेको पाहुना घरमा स्वास्थ्य चौकीको सेवा दिइरहेका छौ, यस अघि सामुदायिक भवनमा थियो, गाउँपालिकाले समेत यस वर्ष बजेट विनियोजन नगर्दा स्वास्थ्यचौकी भवन अलपत्र प¥यो ।”

गाउँपालिकाले ठेक्कामा लैजाने भन्दै रोकेर चैत ३१ गते उपभोक्ता समितिलाई सम्झौता गर्दा रात दिन लगाएर तीन महिनामा एक तला पक्की र एक तला जस्ताले छाएपनि अन्यकाम गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष दिपक परियारले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारबाट बजेट व्यवस्थापन नभएकाले स्वास्थ्यचौकी भवन यो वर्ष समेत अुधरै हुने देखिएको छ । काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले प्रदेश सरकार र संघीय सरकारबाट बजेट आउने आशा भएपनि आउन नसक्दा काम अधुरै रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारमा अझै पहलकदमी भइरहेको र चालु आर्थिक वर्षमा बजेट नआउने देखिएमा गाउँपालिकाले हिउँदेसभाबाट भएपनि बजेट संशोधन गरेर स्वास्थ्यचौकीको भवन पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा चुनौती भएको तंग्राम आधारभूत स्वास्थ्य चौकीका प्रमुख गणेश शर्माले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा अहिले बर्थीङ सेन्टर र प्रयोगशाला समेत सञ्चालनमा छ । पाहुना घर सञ्चालनका लागि ल्याइएका लाखौंका समाग्री समेत अहिले प्रयोग बिहिन भएको छ ।