सम्पादकीय । पछिल्लो डेढ महिनाको अन्तरालमा देशमा ठुलो उथल पुथल आएको छ । यस्तो अभूतपूर्व परिवर्तन न त सुशासन र सामाजिक सञ्जाल सञ्चालनको माग सहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जेनजीलाई कल्पनामा थियो, न त सत्ताको बागडोर सम्हालिरहेका सत्तासिन राजनीतिक दल र नेताहरु । अरु आम नागरिकलाई त झन् दुई दिनमै यस्तो चामत्कारिक विद्रोह, कहाली लाग्दो ध्वंसको घटना होला भन्ने थिएन । तर, जे नसोचेको त्यही भयो । जेनजी विद्रोहमा सरकारका तर्फबाट भएको क्रुर दमन, १९ जना युवाको हत्या पश्चात भोलिपल्ट चर्किएको आन्दोलन र प्रदर्शनकारीका नाममा भएको ध्वंस अकल्पनीय थियो । जे होस्, यस आन्दोलन विद्रोहबाट ठुलो परिवर्तन मात्र भएको छैन, थुप्रै अनिश्चितता, संशय र सन्त्रास पनि कायमै छ ।
जेनजी आन्दोलन पश्चात मुलुकमा सिर्जित जटिल परिस्थिति अहिले केही सहजता र लयमा फर्किएको छ । भलै अझै अस्थिरता, बैदेशिक हस्तक्षेप, आन्दोलन, अराजकताको खतरा कायमै छ । ६ महिना भित्र निर्वाचन गराउने जिम्मेवारी सहित सुशिला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । उसो त यस प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनस्र्थापनासमेतको माग गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका छन् । जसमध्ये प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको माग गर्दै परेका रिटमा विचार गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको जनाएको छ । यता पटक पटक आन्दोलन र अराजक गतिविधि गरिरहेका दुर्गा प्रसाईले आन्दोलनको घोषणा गरिरहेका छन् । फागुन २१ को घोषित चुनाव गर्न अब पाँच महिना पनि बाँकी छैन । राजनीतिक दलहरुले सरकारले चुनावको वातावरण बनाउन गम्भीरता नदेखाइरहेको आरोप लगाइरहेका छन् । बुधवार भने प्रधानमन्त्रीले राजनीतिक दल र जेन–जीका प्रतिनिधिलाई संयुक्त रुपमा बोलाएर निर्वाचनका विषयमा छलफल गरेका छन् । जसले केही सकारात्मक माहोल खडा गर्ने संकेत गरेको छ ।
मुलुकले जेनजी आन्दोलनबाट अभूतपूर्व परिवर्तन र उपलब्धि मात्र हासिल गरेको छैन, आन्दोलनकै नाममा देशभर भौतिक संरचनामा गरिएको ध्वंसले देश वर्षौ पछि परिसकेको छ । यस अवस्थामा फेरि जेनजीका नाममा, पुराना राजनीतिक दलका नाममा या अरु कुनै स्वार्थ समूहको नाममा मुलुकमा मुठभेद सिर्जना गर्ने कार्य गरिनु हुँदैन । सरकारले पनि अहिलेको संवेदनशील घडिमा कसै प्रति प्रतिशोध नसाँधी जेनजी आन्दोलनको भावना, मर्म अनुसार सुशासन कायम, निर्धारित समयमै निर्वाचन, भ्रष्टाचारको निश्पक्ष छानविन, भाद्र २३ को आन्दोलन दमन र २४ गतेको ध्वंसमा संलग्नहरुलाई पक्राउ गरेर यथोचित अनुसन्धान र कारबाही अघि बढाउनु पर्छ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन भन्ने प्रधानमन्त्रीको भनाई मननीय छ । यसका लागि अहिलेको परिस्थितिलाई थप सहज बनाउँदै निर्वाचनको वातावरण बनाउनु पर्छ । यसमा राजनीतिक दलहरु पनि अहिलेको बदलिँदो परिवेश अनुसार आफूलाई तयार गर्नुपर्छ । अहिले जे जस्तो परिस्थिति खडा भएको छ, त्यसको मुख्य जिम्मेवार वर्षौदेखि सत्ताको रजगज चलाइरहेका अहिलेका पुराना राजनीतिक दल, तिनका नेताहरु नै हुन् । अतः जेनजी आन्दोलन, समयको बहावबारे समीक्षा, मन्थन र कमजोरीबोध गरेर सच्याई सहित अघि बढ्न तयार हुनुपर्छ । अन्यथा, उनीहरु स्वंयम्का लागि मात्र होइन, सिंगो देशले ठुलो मूल्य चुकाउन पर्ने खतरा पनि देखिन्छ ।