सम्पादकीय
जेनजी आन्दोलनबाट मुलुकले परिवर्तन र ध्वंस दुबै बेहो¥यो । आन्दोलनका क्रममा ७२ जनाको ज्यान गयो । जसमध्ये संसद भवन परिसरको प्रदर्शनमा ज्यान जानेको संख्या २२ मात्र भएको नेपाली सेनाले जनायो । त्यसबाहेक ठुलो संख्या आगजनी, तोडफोड, लुटपाट, कारागारबाट भाग्ने क्रममा भयो । उसो त यस आन्दोलनमा ३ जना प्रहरीको समेत क्रुरतापूर्वक हत्या गरियो । दर्जनौ प्रहरी कार्यालय, चौकीहरुमा तोडफोड र आगजनी गरियो । अहिले प्रहरी हत्या आरोपमा ६ जना पक्राउ समेत परिसकेका छन् । उनीहरुको पृष्ठभूमि अध्ययन गर्दा विगतमा पनि अपराध कर्ममा संलग्न रहेको पाइएको छ । अरु लुटपाट तोडफोडमा पनि पनि पहिले अपराधजन्य क्रियाकलापमा संलग्न भएकाहरु नै बढी भएको प्रहरीले जनाएको छ ।
भाद्र २३ मा ठुलो संख्यामा गोली प्रहार र हत्या भए पछि २४ मा नेपाल प्रहरी रक्षात्मक अवस्थामा थियो नै । प्रदर्शनकारीहरु विहानैदेखि नेताहरुको घर जलाउने लगायतका कार्यमा सक्रिय थिए । सुरक्षाकर्मीलाई तालिम दिँदा आफूसँग भएको हतियारको सुरक्षा आफ्नो ज्यानसरह हुने भनेर सिकाइन्छ । तर, भदौ २४ गते प्रहरीले ठूलो संख्यामा आफूसँग भएका हतियार पनि सुरक्षित राख्न सकेन । लुटिएका हतियारबारे छानबिन गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एक हजार २८१ थान हतियार लुटिएको छ । लुटिएकामध्ये कात्तिक १२ गतेसम्म ७२३ थान हतियार भेटिएको प्रहरी तथ्यांक छ । प्रहरीका यति धेरै हतियार आन्दोलनकारीको कब्जामा कसरी पुगे ? आखिर यस्तो अवस्था कसरी पैदा भयो ? भदौ २३ गतेको प्रदर्शनमा मृत्यु भएकाको कम्मर भन्दा माथि गोली लागेको थियो । यही कारण प्रहरीको आलोचना भइरहेको थियो । यस रक्षात्मक अवस्थामा सोही दिन रातिको सुरक्षा निकायका प्रमुखहरूको छलफलमा महत्वपूर्ण संरचनाको सुरक्षामा सेना र सशस्त्र प्रहरी खटिने तथा नेपाल प्रहरी प्रदर्शनकारीलाई नियन्त्रण गर्न केन्द्रित हुने मौखिक सहमति भएको थियो । प्रहरीलाई सघाउन पछिल्लो घेरामा सशस्त्र प्रहरी पनि तैनाथ हुने रणनीति थियो । तर भोलिपल्ट सडकमा प्रहरी एक्लै भयो । यसको पछाडिको कारण के हो ? अझै सम्म खुल्न सकेको छैन । आफ्नै मुख्यालय अघिको देशकै प्रमुख केन्द्र सिंहदरबार जलाउँदा पनि नेपाली सेना किन रमिते बन्यो ? यी र यस्ता अनगिन्ती प्रश्नहरु बिद्यमान छन् ।
जेनजी आन्दोलन पश्चात प्रहरी मनोबल निकै कमजोर अवस्थामा छ । उनीहरु सँग आफ्ना हतियार छैनन्, आफ्ना भौतिक संरचना, स्रोत साधन, पोशाकहरु छैनन् । आफ्नै स्वचालित हतियारसमेत जोगाउन नसकेको लाचार परिदृश्य ताजा छ । अहिले जेनजीको नाममा ड्युटीमा खटिएका प्रहरी माथि दुव्र्यवहारहरु हुन थालेका छन् । त्यो भन्दा ठुलो राष्ट्र सेवामा समर्पित भए पश्चातको न सम्मान, न सुरक्षा हुने दुर्भाग्यपूर्ण अवस्था छ । त्यसमा अझ वर्तमान गृहमन्त्रीले आन्दोलनका नाममा भएका ध्वंस र अपराधजन्य कार्यको अनुसन्धान र त्यसमा संलग्नहरुलाई पक्राउ नगर्नु भन्ने निर्देशनले प्रहरीहरु थप असमञ्जसमा छन् । जेनजी आन्दोलनमा प्रहरीले जे जस्तो सुरक्षा रणनीति र कमान्ड अख्तियार ग¥यो । त्यसमा पनि गम्भीर कमजोरी देखिन्छ । भाद्र २३ मै यथेष्ट सुरक्षा योजना, सजगता र संयमता अपनाएको भए न ७६ जनाको ज्यान जान्थ्यो, न भोलिपल्टको विध्वंस हुन्थ्यो । यसर्थ, सुरक्षा निकायमा पनि गम्भीर समीक्षाको खाँचो देखिएको छ । तत्कालका लागि गृहमन्त्रालयले प्रहरीको खस्किएको मनोबल उकासेर मुलुकमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने, निर्वाचनलाई निश्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्ने सुनिश्चितता दिलाउन आवश्यक छ ।