बागलुङ । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्र गण्डकी प्रदेशको प्राथमिकतामा परेको स्वास्थ्य क्षेत्र रहेको बताउदै स्वास्थ्यका कार्यक्रम कटौती नहुँने बताउनुभएको छ ।
उहाँले प्रदेश सरकारले बजेटलाई मितव्यीय बनाउने उद्देश्यका साथ केही शिर्षकमा बजेट कटौती गरेता पनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताउनुभएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले मंगलवार आयोजना गरेको वार्षिक समीक्षा तथा चालु बर्षको खर्च सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पाठकले अत्यावस्यक सेवा सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । “चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमा प्रदेश सरकारकै निर्णयमा आर्थिक मामिला मन्त्रालयबाट केही कटौती भएर आएको छ” मन्त्री पाठकले भने,–“केही अत्यावश्यक नरहेको बजेट कटौती भएता पनि औषधी उपचार, स्वास्थ्य उपकरण लगायतको बिषयमा भने कटौती हुने छैन, विनियोजन भएको बजेटलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि स्वास्थ्य कार्यालयहरुलाई म आग्रह गर्दछु ।” सरकारले जनताको हितको काम गर्ने बजेट अभाव हुन नदिने पाठकले जानकारी दिनुभयो । प्रदेशमा सवारी साधन मर्मत, मेशिनरी औजार खरिद, मसलन्द, सवारी साधान खरिद, भ्रमण खर्च, पत्रपत्रिका सूचना छपाई, फर्निचर खरिद लगायतका शिर्षकमा बजेट कटौती गरिएको सुनाउनुभयो ।
चालु आर्थिक वर्षका लागि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको कुल रु.६ करोड ३५ लाख ५७ हजार बजेट रहेको कार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी बताउनुभएको छ । उहाँले उक्त बजेटबाट अत्यावस्यक सेवालाई प्राथमिकता दिएर काम गर्ने जानकारी दिनुभयो ।
कार्यालयका अनुसार क्षयरोग कार्यक्रमका लागि ५ लाख ८७ हजार रुपैयाँ, अपाङ्गता रोकथाम तथा कृष्ठरोग नियन्त्रण कार्यक्रमका लागि १ लाख ३० हजार, परिवार कल्याण कार्यक्रमका लागि १ करोड ६५ लाख २८ हजार, एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रमका लागि २ लाख १० हजार, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम ६ लाख ८८ हजार रकम विनियोजन भएको छ ।
त्यसैगरी स्वास्थ्य व्यवस्थापन कार्यक्रमका लागि १५ लाख ८० हजार रुपैयाँ, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमका लागि २३ लाख ८४ हजार रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार कार्यक्रमका लागि ३ लाख रुपैयाँ, महामारी रोग नियन्त्रण कार्यक्रमका लागि ६ लाख ७ हजार रुपैयाँ, उपचारात्मक सेवा कार्यक्रमका लागि १५ लाख रुपैयाँ प्रदेश जनस्वास्थ्य कार्यालय संचालनका निम्ती चालु तर्फ ३ करोड ४३ हजार रुपैयाँ र पुँजीगत तर्फ ९० लाख रुपैयाँ विनियोजन भएको सापकोटाले जानकारी दिनुभयो ।
बिशेषगरी जनस्वास्थ्य कार्यालयले खोपको सुरक्षा, बितरण र भण्डारन, सुरक्षित मातृत्व, क्षयरोग कृष्ठ रोगका कार्यक्रम, सबै पालिकाको स्वास्थ्य शाखा, अस्पताल र स्वास्थ्य चौकीका प्रमुख सहित सबैलाइ तालिम दिने काम गर्छ । त्यस बाहेक माृतशिशु स्वास्थ्य, गर्भपतन सेवा, औषधीको उपलब्धता लगायतको अनुगमन पनि गर्ने गरेको छ । नियमित तालिम मार्फत हरेक नयाँ कार्यक्रम लागू हुने भएकोेले हरेक काम मानव स्वास्थ्यसँग जोडिएको जनस्वास्थ्य अधिकृत समिता घिमिरेले बताउनुभयो । उहाँले बागलुङको वर्तमान स्वास्थ्यको अबस्था बारे प्रष्ट पार्नुभयो । खोप, परिवार योजना, मातृ तथा बालस्वास्थ्य कार्यक्रम बालबालिकामा पोषणको अबस्था र क्षयरोग कुष्ठरोग कार्यक्रमका बारेमा कार्यालयले गरेको काम र सफलताको बारेमा जानकारी गराउनुभयो । पछिल्लो समय गर्भपतन बढेको र त्यो पनि किसोर किसोरी उमेरमा बढेकोले त्यसको प्रभाव बारे अध्ययन गर्न जरुरी भएको पनि उहाँले बताउनुभयो ।
समीक्षामा जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले आफ्नो पालिकाको वार्षिक उपलब्धी र आगामी कार्य योजनाको बारेमा प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रमुख कोष नियन्त्रक किशोर कुमार श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाको अध्यक्षता जनस्वास्थ्य अधिकृत कुशुमशिला भट्टको स्वागत र कार्यालयका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।