• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

तमानखोलाका बाढी–पहिरो पीडितलाई ३ लाख ८० हजारको राहत

बागलुङ । बाढी र पहिरोका कारण आफन्त गुमाएका तथा विस्थापित भएका तमानखोला गाउँपालिकाका पीडित परिवारका लागि ३ लाख ८० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ बागलुङका उपाध्यक्ष तथा धौलागिरी जागरण दैनिकका सम्पादक सिर्जना पन्तको पहलमा संकलन गरिएको राहत सामग्री गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत तथा विपद् व्यवस्थापन फोकल पर्सन मुना विश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा तमानखोला गाउँपालिकाका ९ जना बेपत्ता भएका थिए । उनीहरूको अवस्था हालसम्म अज्ञात छ । बाढीमा बेपत्ता भएकाहरूको परिवारको आर्थिक अवस्था कमजोर रहेको र कतिपय परिवारका सदस्यको जीविकोपार्जन नै उनीहरूमा निर्भर रहेको विषयलाई समाचारमार्फत उजागर गर्दै पत्रकार पन्तले सहयोगका लागि अपिल गर्नुभएको थियो ।

सहयोग संकलन भइरहेकै समयमा असोज ११ गते तमानखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको थियो । पहिरोमा परी ४ जनाको ज्यान गएको थियो भने १६ घरपरिवार विस्थापित भएका थिए । त्यसपछि संकलित राहत सामग्रीलाई बाढीमा बेपत्ता भएका परिवार तथा पहिरोबाट प्रभावित परिवारलाई वितरण गर्ने गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

राहत हस्तान्तरण गर्दै पत्रकार पन्तले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले बाढीमा बेपत्ता भएका परिवार र पहिरोबाट विस्थापित परिवारको अवस्था कमजोर भएकाले राज्यसँगै नागरिकस्तरबाट पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राहत सामग्री पर्वतको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने, नेपाल पत्रकार महासङ्घ बागलुङका पूर्वअध्यक्ष रामबहादुर जिसी, प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष कमल पौडेल, आदर्शसञ्चार अनलाइनका कार्यकारी सम्पदाक विनोद प्रतीक थापाको उपस्थितिमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

राहत सामग्रीमा चामल, नुन, तेल, चिनी, चियापत्ती, चाउचाउ, साबुन, ओछ्याउने तथा लगाउने कपडालगायतका दैनिक उपभोग्य सामग्री रहेका छन् ।

बाढीमा आफ्ना आफन्त बेपत्ता भएको पीडा नसकिँदै पहिरोबाट समेत परिवार विस्थापित भएपछि तमानखोलाका प्रभावित परिवार दोहोरो विपद्को मारमा परेका छन् । यस्तो अवस्थामा संकलित राहतले तत्कालको आवश्यकता पूरा गर्न केही भए पनि सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।