सम्पादकीय । यतिबेला मुलुकको सत्ता चलखेलमा नेतृत्वदायक र सहायक भूमिकामा चलखेल गर्दै आएका राजनीतिक दल र तिनका पुराना नेताहरु चरम संकट र सकसमा छन् । अझ बिडम्बना त पूर्व प्रधानमन्त्री, मन्त्री भइसकेका पात्रहरु गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलन पछि किनाराकृत भएर नेपाली राजनीतिबाट बहिगर्मन नै हुनुपर्ने अवस्थामा पुगेका छन् । आन्दोलनका क्रममा प्रदर्शनकारीबाट कुटिएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट विश्राम लिने आशय सहित उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । उनी अहिले उपचारका लागि सिंगापुरमा छन् । तर, निवर्तमान प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकारी भूमिकाबाट बिस्तारै अघि बढ्ने कसरतमै देखिन थालेका छन् । उनले एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीका नेताहरुलाई केही दिन अघि सार्वजनिक अपिल जारी गरेर आफ्नो घर फर्किन अपिल गरे । अर्का पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरु सहित बिभिन्न ९ दललाई एकीकरणमा ल्याएर नेपाली कम्युनिष्ट पार्टी बनाएका छन् ।
माओवादी, एकीकृत समाजवादीलगायतका १० वाम दल–समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गर्दा यिनै दल भित्र बिभाजनको रेखा कोरिएको छ । पार्टी एकीकरणको नेतृत्वकर्ता दल माओवादी केन्द्रबाट जनार्दन शर्मा, सुदन किराती, राम कार्की लगायत बाहिरिएका छन् । शर्माले त छुट्टै प्रगतिशील अभियान चलाउने घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा पनि बिभाजित भएको छ । चिरन सि नेतृत्वको एक समूह नवगठित पार्टीमै एकीकरणमा गएको छ । नवगठित पार्टीमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा एकताबद्ध छन् । उनीहरुले आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्ति बन्ने दाबी मात्र गरेका छैनन्, जेन–जी पुस्ताका मुद्दा र आकांक्षाको सम्बोधन गर्ने प्रतिबद्धता, उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठनका लागि पहल गर्ने बताएका छन् । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी एकीकरणबाट बाहिरिएका जनार्दन शर्मा लगायतका बिचमा पनि एकीकरणका लागि छलफल भइरहेको छ । बिभिन्न समूहमा बिभक्त जेनजीहरुका बिचमा पनि एकताबद्ध हुने विषयमा पहल र छलफल भने भइरहेका छन् ।
पुराना राजनीतिक दल र तिनका नेता, जो उमेरले बुढ्यौली लागेर विश्राम आराम गर्ने बेला भइसकेको छ । उनीहरु जेनजी आन्दोलन पछि नेपाली राजनीतिबाट विदाइ भएको हेर्न चाहन्छन् । वर्षौदेखि आलोपालो सत्ताको नेतृत्वमा पुगेर उनीहरु जे गर्नुपर्ने थियो, गरेनन्, जे नगर्नु पर्ने थियो, त्यो गरे । जसका कारण नागरिकमा चरम निराशा र आक्रोश थपिँदै गयो । जुन जेनजी आन्दोलन मार्फत् अभिव्यक्त भएको छ । अहिले राजनीतिबाट किनारा लाग्ने बाध्यात्मक अवस्था पैदा भइरहेका बखत पुराना दल र तिनका नेताहरु आफ्नो अस्तित्व रक्षा गर्ने ध्याउन्नामा छन् । जसको प्रयास स्वरुप अहिले एकताको नाम दिएर बिभिन्न पार्टी र समूहसँग एकता घोषणा गरिरहेका छन् । यो मुलुकको हित, राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि भन्दा पनि बढी उनीहरुकै स्वार्थ र अस्तित्व रक्षाका लागि एकता भइरहेको छिपेको छैन । अतः समयको गति, जनताको भावना नबुझ्ने दल र नेता अब ‘डेट एक्सापयर’ हुने निश्चित छ ।