• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

बेथितिकै पथमा दल खोल्ने दौड

  • २०८२ कार्तिक २४, सोमबार

सम्पादकीय
नेपालमा राजनीतिक दल स्थापनाको लामो इतिहास छ । पार्टी स्थापना मात्र होइन, एकता र विभाजनको पनि उस्तै दुखान्त र कुरुप इतिहासहरु छन् । चाहे त्यो प्रजातन्त्रको आलाप लिइरहने नेपाली काग्रेस होस्, या एमाले, माओवादी लगायतका कम्युनिष्ट पार्टीहरु किन नहुन्, एकता र फुटको इतिहासकै बिचबाट मूलधारको पार्टीका रुपमा आजको दिन सम्म स्थापित छन् । राजनीतिक इतिहास कोट्याएर हेर्ने हो भने विसं १९९३ मा राणाकालमा स्थापना भएको नेपाल प्रजापरिषद् नै नेपालको पहिलो राजनीतिक दल हो, जसको उद्देश्य राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नु थियो । जुन विसं २००७ मा आएर प्राप्त भयो । त्यसपछि नेपालमा अन्य राजनीतिक दलहरू स्थापनाको क्रम बढ्दै गयो ।

उसो त नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई प्रस्तावनामा उल्लेख गरी स्वतन्त्रताको हक अन्तर्गत राजनीतिक दल खोल्न पाउने अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । नेपालको संविधानको भाग २९ धारा २६९, २७०, २७१ र २७२ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन, राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज, राजनीतिक दलका रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने व्यवस्था र राजनीतिक दलसम्बन्धी अन्य व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार यतिबेला राजनीतिक पार्टी खोल्ने र निर्वाचन आयोगमा दर्ता गर्ने लहड चलेको छ । गत भाद्र २३ र २४ को जेन–जी आन्दोलनपछि मात्रै दल दर्ताका लागि १८ निवेदन परेको छ । आन्दोलन अगाडिका १० सहित कुल २८ निवेदनमध्ये तीनले प्रमाणपत्र पाइसके, २५ दलमाथि आयोगले अध्ययन गरिरहेको छ । ३० कात्तिकसम्म दल दर्ताको अझै समय छ । अहिले सम्म दर्ता भएका दलको कुल संख्या १२५ पुगिसकेको छ । जबकि विसं २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनका लागि ७९ राजनीतिक दल आयोगमा दर्ता भएका थिए, जसमध्ये ६५ राजनीतिक दलले निर्वाचनमा भाग लिए भने २४ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व छ । २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फका लागि आयोगमा ८६ राजनीतिक दल दर्ता थिए, जसमध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दलले निर्वाचनमा सहभागी थिए । समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि ६८ वटा राजनीतिक दलले निवेदन दिए पनि बन्दसूची दर्ता गराउने दलको संख्या ४७ रहेको थियो । प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ ।

मुलुकको नीति बनाउने र बदल्ने सामथ्र्य राख्ने एक मात्र नीति भनेको राजनीति हो । त्यो राजनीति दलहरुबाट जनताको बिचमा पुगेर जन अभिमतबाट स्वीकृत हुनु हो । र, उक्त अभिमत अनुसार जनता अर्थात् आफ्ना मतदाता र देश प्रति नै जिम्मेवार र जवाफदेही हुनु हो । तर, राजनीतिक दल खोल्ने कुरा अहिले सामान्य र मजाक जस्तो बनिरहेको छ । परम्परागत राजनीतिक दलहरुको मनमौजी तोड्न नयाँ राजनीतिक शक्ति आउने कुरा स्वागतयोग्य कुरा हो । जुन नेपाली समाजमा जरुरी पनि छ । यद्यपि, अहिले जे जस्तो सोच र प्रवृत्तिका साथ राजनीतिक दल खोल्ने लहड देखिएको छ । यसले मुलुकलाई सुशासन, विकास र समृद्धि दिने भन्दा अझ बढी अस्थिरता र बेथिति तर्फ लैजान्छ । अतः पार्टी धेरै भन्दा पनि विचार, कार्यनीति मिल्नेहरुले एउटै पार्टी बनाउनमा केन्द्रित हुनुपर्छ ।

  • २०८२ कार्तिक २४, सोमबार