• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

आश्रम निर्माणमा दुई करोड ६६ लाख जुट्यो

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा अहिले सम्म रु.दुई करोड ६६ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञमा मंगलबार मात्रै एक करोड एक लाख संकलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो । महायज्ञमा सोमबार रु. ५५ लाख ५४ हजार रकम संकलन भएको थियो । यस्तै आइतबार रु.३८ लाख संकलन भएको थियो ।

महायज्ञमा मंगलबार अमेरिका स्थित बागलुङ समाज भर्जिनिया परिवारद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताको निम्ति रु. पाँच लाख, बागलुङ नगरपालिका वडा नं २, आवारोड निवासी परोपकारी मनको धनी आदरणीय उमा शान्ती श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठ लगायतको परिवारबाट पाँच लाख संकलन भएको थियो । महायज्ञमा दानदाताको भीडनै लागेको छ ।

महायज्ञमा पाँच हजार देखि पाँच लाख ११ सम्म रकम संकलन भइरहेको छ । महायज्ञमा रु. १० करोड संकलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारको दान गरिरहेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

सडकआश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ कात्तिक २८ गते सम्म चल्नेछ ।