• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

मापसे पछि लापसेको जोखिम

  • २०८२ कार्तिक २७, बिहीबार

सम्पादकीय । नेपालमा सडक दुर्घटना गम्भीर समस्याको रुपमा दर्ज छ । सडक दुर्घटनाको पछिल्लो तथ्य र तथ्यांकले यति भयानक चित्र देखाउँछ कि देशभर दैनिक ५५ सवारीसाधन दुर्घटनामा पर्छन् । सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा (०६५/०६६ देखि ०८०/०८१ मंसिरसम्म) देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ । अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए । यसरी हुने सवारी दुर्घटना मध्ये ८८.३५ प्रतिशत मानवीय कारण हुने गरेको पाइएको छ । २०७९ मा गठन गरेको यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा यस्तो तथ्य समावेश छ । यसबाहेक सवारीसाधन, यात्रु, सडक अवस्था र मौसम अवस्थाले समेत दुर्घटना हुने गरेको छ ।

सडक दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन (मापसे)लाई लिइन्छ । यसका साथै चालकको ज्ञान, सीप र क्षमता, मानसिक अवस्था र पैदल यात्रुको अवस्थाले समेत दुर्घटना निम्त्याउने गरेको छ । दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले केही वर्ष यता मापसे चेकजाँच लगायतको ट्राफिक सचेतना अभियानलाई तीब्र बनाएको पनि छ । खासगरी शुक्रवार र शनिवारको दिन मापसे चेकजाँचमा देशैभर कडाइ गर्दै आएको छ । भलै पछिल्लो जेनजी आन्दोलन पछि ट्राफिक प्रहरीको पनि मनोबल खस्किएको छ । सडकमा धुवा, धुलो, घाम पानी केही नभनि खटिरहेका उनीहरुको कमजोर मनोबल उकास्न सरकार, नेपाल प्रहरी प्रधान कार्यालयले विशेषतः ध्यान दिनुपर्ने देखिन्छ । सडक यात्रा र दुर्घटनामा मापसे मात्र होइन, अब त लागु पदार्थ सेवन (लापसे) पनि जोखिमको रुपमा देखिएको छ । ट्राफिक प्रहरीले काठमाडौंमा गरेको जाँचमा सार्वजनिक सवारीसाधन चलाउने चालकहरूले नै लागुऔषध सेवन गर्दै आएको देखाएको छ । मंगलबार सुकेधारा क्षेत्रमा शंकास्पद १० चालकमा परीक्षण गर्दा ६ जनाले लागुऔषध सेवन गरेको पुष्टि भएको छ । जसमा चार पठाओ मोटर साइकल चालक, एक बस चालक र एक बोलेरो चालक छन् । सार्वजनिक सवारीसाधन मात्र होइन, स्कुल बसका चालकले समेत लागुऔषध सेवनकर्ता भएको देखिएको छ ।

लागु पदार्थ दुव्र्यसनका सन्दर्भमा हालै एक टेलिभिजन अन्तरवार्तामा जेनजी अभियन्ता पुरुषोत्तम यादवले तराई क्षेत्र भारतीय खुल्ला सीमाका कारण युवाहरुका दुव्र्यसनमा फसेको र अवस्था दर्दनाक भएको बताएका थिए । यसपछि नेपाली समाज नै लागुपदार्थ दुव्यर्सनबाट आक्रान्त बनिरहेका घटना र विषयमा बहस भइरहेको छ । यही अनुक्रममा चालकहरुले पनि लापसे गरेको भेटिनु अर्को डरलाग्दो कुरा हो । लागुऔषध सेवन गरेर सार्वजनिक यातायात चलाउने कार्यले यात्रुको जीवन र भावनासँग गम्भीर खेलवाड गरेको छ । जेन–जी आन्दोलनपछि सडकमा नियम मिच्ने प्रवृत्ति देखिएको छ । मापसे, लापसे गर्नेहरुको संख्या बढिरहेको छ । यस अवस्थामा ट्राफिक प्रहरीले मापसे, लापसे चेकजाँचमा तीब्रता दिनुपर्छ । सडक अनुशासन बढाउन पहिले जस्तै सक्रियता देखिनु पर्छ । उसो त नेपाल सरकार र सम्बन्धित सरोकारवालाले लागुपदार्थको डरलाग्दो दुव्र्यसन नियन्त्रणबारे तत्काल यथोचित कदम चाल्न आवश्यक छ ।

  • २०८२ कार्तिक २७, बिहीबार