बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट ६ हजारभन्दा बढी लाभान्वित भएका छन् । आश्रमको निर्माणधीन भवन सम्पन्न गर्ने उद्देश्यले कात्तिक २१ गतेदेखि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको अवसरमा महायज्ञको पण्डाल परिषरमै ७ दिने योग शिविरको सञ्चालन गरिएको थियो ।

महायज्ञ कात्तिक २१ गतेदेखि सुरु भएको भएपनि योग शिविर भने कात्तिक २२ गतेदेखि सुरु सञ्चालन गरिएको थियो । पतञ्जलि योग समिति नेपालका सह केन्द्रिय प्रभारी तथा योग प्रशिक्षक ललित शंकर योगीले ७ दिनसम्म योग, ध्यान र प्रणायम गराउनु भएको थियो । योग शिविरमा बागलुङका कर्मचारी, उद्योगी, व्यवसायी, शिक्षक, राजनितिज्ञ, पत्रकार, सेना र प्रहरीको सक्रिय सहभागिता रहेको थियो ।

पतञ्जलि योग समिति बागलुङका संगठन मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कंडेलको संयोजकत्वमा शिविरको सञ्चालन तथा व्यवस्थापन गरिएको थियो ।
पतञ्जलि योग समिति बागलुङ र पर्वतबाट समेत योग शिविरमा दैनिक सक्रिय सहभागिता रहेको थियो । प्रत्येक दिन शिविरमा ७ सयभन्दा बढीको संख्यामा उपस्थिती रहेको संयोजक कंडेलको भनाई छ ।

कात्तिक २८ गतेसम्म सञ्चालन हुने भनिएको महायज्ञ एक दिन थप गरेर २९ गतेसम्म सञ्चालन गरिएको थियो । सोसँगै योग शिविर पनि एक दिन थप गरिएको थियो ।
मानवसेवा आश्रम बागलुङले आम नागरिकमा योगको जागरण ल्याउँने उद्देश्यले शिविरको सञ्चालन गरेको भन्दै योग गुरु ललित शंकर योगीले ७ दिनको शिविरले भोक जगाए पनि मेटाउन नसक्ने बताउनु भएको थियो । उहाँले मानव जीवनका लागि प्रत्येक दिन योग जरुरी रहेको भन्दै हरेक विहान अनिवार्य योग गर्न सबैलाई आग्रह गर्नु भयो ।

शिविर समापन भएपनि योग गर्न इच्छुकहरु बागलुङमा पतञ्जलि योग समिति बागलुङले प्रत्येक दिन निशुल्क योग साधना हुँदै आएको भन्दै प्रतेक विहान ४ः३० बजे राधाकृष्ण मन्दिरको साधान केन्द्रमा सहभागी हुन सक्ने पतञ्जलि योग समिति बागलुङका संगठन मन्त्री अमृत कंडेलले बताउनु भयो ।
