रेमिट्यान्स नेपाल र नेपालीको अर्थतन्त्र, जीवन दैनिकी धान्ने महत्वपूर्ण स्रोत हो । यो बिना त नेपालको वर्तमान कल्पना गर्न सकिदैन । निकै कहाली लाग्दो परिदृश्य सम्मुखमा आउँछ । कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम स्वदेशमा पठाउने रकम रेमिट्यान्स अर्थात् विप्रेषण हो । सामान्य अर्थमा विदेशको कमाइ देशमा आउनु या पठाउनु नै रेमिट्यान्स हो । अहिले उच्च शिक्षा अध्ययन र रोजरोटीका लागि लाखौं मानिस विदेशमा छन् । नेपाल कहालीलाग्दो विपद्, भवितव्य या अरु खराब परिस्थिति र संकटमा रहँदा पनि रेमिट्यान्सले नै प्राण भरिदिएको छ । अतः रेमिट्यान्स नेपालका लागि अहिलेको सन्दर्भमा एक अपरिहार्य ‘जीवनबुटी’ हो ।
नेपालमा प्राप्त हुने विप्रेषण कुल गार्हस्थ उत्पादनको २३ प्रतिशत रहेको छ । केही समयअघिको एक अध्ययन अनुसार नेपालमा करिब ५६ प्रतिशत जनताको घरमा विप्रेषण प्राप्त हुन्छ । कुल वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ११ प्रतिशत अंश महिलाको छ । बिभिन्न देश मार्फत् यसरी नेपाल भित्रिने रेमिट्यान्स पछिल्ला दिनमा अझ बढ्दो क्रममा छ । पछिल्ला ३५ महिनायता मासिक रूपमा नेपाल भित्रिने रेमिट्यान्स रकम एक खर्ब रूपैयाँ भन्दा माथि रहँदै आएको छ । यो असोजमा भने नयाँ रेकर्ड थपियो । असोजमा इतिहासमै पहिलो पटक मासिक रूपमा भित्रिएको रेमिट्यान्स रकम दुई खर्ब एक अर्ब रूपैयाँ भित्रियो । चाडपर्व, नेपाली मुद्राको अवमूल्यन हुनु, राम्रो आम्दानी हुने मुलुकमा बिदेसिने नेपालीहरू बढ्नु र राष्ट्र बैंकले औपचारिक प्रणाली प्रयोगमा गरिरहेको प्रोत्साहनका कारण पनि रेमिट्यान्स बढेको हो । पछिल्लो दिनमा नेपालीहरु विदेशिने क्रम अझ बढेको छ । जापान र दक्षिण कोरिया जस्ता मुलुक जाने प्रवृत्ति बढिरहेको छ । समग्रमा बिदेसिने नेपालीको संख्या पनि बढिरहेकै छ । यो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा यो अवधिमा एक लाख ७० हजारले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए । यस वर्ष दुई लाख सात सयले यस्तो स्वीकृति लिएका छन् ।
विदेश जानुपर्ने रहर भन्दा पनि अधिक बाध्यता छ । त्यही बाध्यताले आर्जन गरेको रकमले परदेशी नेपालीहरुको जीवन मात्र चल्दैन, सिंगो मुलुक नै रेमिट्यान्सले चल्छ भन्दा पनि फरक पर्दैन । नेपाली अर्थतन्त्रमा वा सामाजिक सदभाव खलबलिँदा नेपालमा बढी रेमिट्यान्स भित्रिने गर्दछ । अहिले मुलुक राजनीतिक संक्रमणकालीन अवस्थामा रहेको, विभिन्न पक्षले आन्दोलन लगायत कार्यक्रमको घोषणा गरिरहेकाले पनि रेमिट्यान्स बढेको अनुमान छ । २०७२ सालको भुइँचालोमा होस् वा कोरोना महामारी कालमा, नेपालमा रेमिटेन्स भित्रिने दर बढेको थियो । तर, यसरी भित्रिने रेमिट्यान्स केवल नेपालमा रहेका आफन्तहरूको जीवन दैनिकी सहजतामा मात्र होइन, आयआर्जनका माध्यम फराकिलो बिनाउने विषयमा पनि सोचिनु पर्छ । आत्मनिर्भर र दिगो उपयोगिता तर्फ पनि उपयोगमा जोड दिनुपर्छ । जबकि भावी सन्ततीले आजको समय र पात्रहरुले जस्तो भोलिका दिनमा परदेशमा स्वाभिमान गुमाएर रोजीरोटीका लागि भौतारिन नपरोस् । नेपाली अर्थतन्त्रलाई भरथेग गर्न पनि रेमिट्यान्सकै ठुलो हिस्सामा भर पर्न नपरोस् ।
