• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

छोराको जन्मदर्ता गराउन श्रीमानको घर खोज्दै नेपालगन्जदेखि बागलुङ

बागलुङ । छोराको जन्मदर्ता गराउँन भनेर श्रीमानको घर खोज्दै आएकी एक महिलालाई बज्रपात परेको छ ।  १६ वर्ष पहिले भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा राम प्रसाद कंडेल नाम गरेका व्यत्तिसँग प्रेम विवाह गरेकी बाँकेको नेपालगन्जकी ३७ वर्षीया विरमा विक(कल्पना)लाई श्रीमानकी अर्की श्रीमती र २ सन्तान समेत रहेको थाहा हुँदा छाँगाबाट खसे जस्तै भयो ।

बिरमायाले आफु र आफ्ना श्रीमान रामप्रसाद कंडेलका १६ र १२ वर्षका २ वटा छोरा रहेको बताउनु हुन्छ । रोजगारिका लागि भारतको हिमाञ्चल पुगेका बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका रामप्रसाद र परिवारसँग सोही ठाउँमा बस्दै आएकी नेपालगञ्जकी बिरमाले परिवारको सहमतीमै विवाह बताउनु हुन्छ ।  २ सन्तान जन्माउनेदेखि हुर्काउने बढाउने र पढाउनेसम्म पनि पूर्ण सहयोग गरेका श्रीमानले घर लैजान र छोराहरुको जन्मदर्ता गराइदिन आनकानी गरेपछि घर खोज्दै आउँदा श्रीमती, ५ वर्षको छोरा र ९ महिनाको छोरी समेत रहेको जानकारी पाएको बताउनु भयो ।

६ वर्ष पहिले २ छोरा र बिरमायालाई नेपालगञ्ज माइतीमा छोडेर बिरामी आमा भेट्न जान्छु भन्दै घर गएका रामप्रसादले आफ्नो घर कपिलवस्तु बताएका थिए । फोनबाटै छोराहरु र बिरमायकै भविष्यका लागि जापान जान लागेको बताए । जापान गएपछि पनि रामप्रसादले बिरमाया र छोराहरुलाई खर्च पठाउँथे । कक्षा ८ मा पढ्दै गरेका १६ वर्षीय छोरालाई विद्यालयले पटक पटक जन्मदर्ता मागेपछि श्रीमान जापन भएकै बेला उनको घरखोज्दै बिरमाया बागलुङ आएको बताउनु हुन्छ । घर आएपछि श्रीमानकी अर्की श्रीमती र बच्चा समेत रहेको थाहा पाएकी बिरमायासँग सोही समयबाट श्रीमान सम्पर्कमा छैनन् ।

यता रामप्रसादको घर परिवारले पनि रामप्रसाद आफ्नो सम्पर्कमा नरहेको बताउछन् । १३ वर्षसम्म परिवारको सम्पर्कमा नरहेका रामप्रसाद ६ वर्ष पहिले एक्कासी घर फर्किएपछि गाउँ समाजनै राखेर सोधपुछ गर्दा विवाह नगरेको र आफु परिबन्दमा परेकाले घर आउन नपाएको बताएपछि मागेर परम्परा अनुसारनै विवाह गरिदिएको रामप्रसादकी भाइबुहारी राधिका कंडेलले बताउनु भयो ।

पोहोरसाल एक्कासी बिरमाया २ छोरासहित घर आएपछि आफुहरु आश्चर्यमा परेको उहाँको भनाई छ । २ बच्चा सहित एक महिला घर आएको बताएपछि जेठाजु आफुहरुको पनि सम्पर्कमा नरहेको उहाँको भनाई छ । श्रीमानकी अर्की श्रीमती र २ छोरासमेत रहेको थाहा पाएपछि रामप्रसादकी कान्छी श्रीमती मानसिक रुपमा विछिप्त रहेको राधिकाको भनाई छ । ‘जेठाजुले गरेको गल्तीको बारे थाहा पाउँदा जेठानी दिदी गर्भवती हुनुहुन्थ्यो,’ राधिकाले भन्नुभयो ‘अहिले ९ महिनाकी छोरी छन्, दिदी बिरामी हुनुहुन्छ, जेठाजु सम्पर्कमै हुनुहुन्न हामीले के गर्नै ?

बिरमाया र उनका छोरासँग रामप्रसाद सम्पर्कमा नभएपनि उनका घरपरिवारसँग सम्पर्कमै भएको राष्ट्रिय दलित महिला संघका कोषाध्यक्ष सरस्वती विक बताउनु हुन्छ । ‘जापान जस्तो सुविधा सम्पन्न ठाउँमा भएको मान्छे खोज्न र सम्पर्कमा आउन चाह्यो भने भर्खर सकिन्छ,’ विकले भन्नुभयो ‘बिरमाया दलित भएकै कारण उसको बच्चालाई अधिकार दिन नखोजेर सम्पर्क बिहिन भएको हल्ला गरिएको छ ।’

‘केही लाख पैसा दिन्छौँ, आमाको नामबाट नागरिकता बनाउनु, श्रीमान हरायो भन्नु, मर्याे भन्नु भन्छन्’ बिरामाले भन्नुहुन्छ ‘मलाई केही चाहिदैन श्रीमान जिउँदो हुँदा हुँदै कसरी मर्याे भन्नु, छोरालाई जन्मदर्ता गराइदिए हुन्छ ।’ उहाँले श्रीमानलाई सम्पर्कमा आएर छोराहरुको जन्मदर्ता गराइदिन आग्रह गर्नु भएको छ ।