सम्पादकीय
क्रिकेट खेलको विकास र विस्तारमा भइरहेको चामत्कारिक पहलकदमीले सिंगो नेपाल र नेपाली उत्साहित छन् । केही दिन यता नेपालमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)ले पुरै देश क्रिकेटमय बनिरहेको छ । तर, यही बिचमा क्रिकेट रंगशालाको एक समाचार सार्वजनिक भइरहेको छ । जसले फेरि दुखान्त अनुभूति गराइरहेको छ । चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिचमै अलपत्र अवस्थामा छ । रंगशालाका लागि आयोजना गरिएको धन धान्याञ्चल महायमा घोषणा गरिएको कबुल रकम उठ्यो, न त संघ र प्रदेश सरकारबाट बचनबद्धता र बिनियोजित बजेट नै प्राप्त भयो । बरु त्यही समयमा कोरोना लगायतका महाविपत्ति आइलाग्यो । जसले धुर्मुस सुन्तलीको महत्वंकाक्षी रंगशालाको सपना चकनाचुर मात्र बनेन, आफ्नै जीवन र भविष्य समेत धरापमा परिरहेको छ ।
धुर्मुस सुन्तली अहिले जीवनकै कठिन र जटिल मोडमा छन् । चर्चित टेलिसिरियल मेरी बास्सै मार्फत् चर्चाको शिखर, देश विदेशका उत्सव महोत्सवमा उस्तै व्यस्तता र वाहवाही चलिरहेको थियो । सोही रहर लाग्दो क्रेजले सम्भवतः उनीहरुलाई अलि बढी नै उत्साहित बनायो । र,राज्यले गर्न नसकेको अवस्थामा राज्यलाई चुनौती दिँदै क्रिकेट रंगशाला निर्माण शुरुवात गरियो । यस अभियानमा देश विदेशबाट स्वतःस्फुर्त करोडौं रकम संकलन पनि भयो । तर, समयक्रमसँगै निर्माणमा गुणस्तर र पारदर्शिताको प्रश्न उठ्न थाल्यो । जस अपजस र अरु राजनीतिक प्रशासनिक खेलहरु शुरु भए । जसले रंगशाला त वर्षौदेखि अलपत्र छ नै, धुर्मुस सुन्तली अहिले जीवनमरणको दोसाधमा अल्झिएका छन् । करोडौं ऋण उनको नाममा छ, तिर्नुपर्ने बक्यौता र त्यसको दबाब तनाव उस्तै सकसपूर्ण छ । सार्वजनिक रुपमा बदनामी र गालीगलौज सुनि हेरि नसक्नुको छ । यस अवस्थामा सिंहरदरबारदेखि सरकारी अड्डाहरुमा समस्या समाधान गर्न भौतारिरहेका छन् । तर, कर्मचारीतन्त्रले उनलाई वर्षौदेखि रिंग्याइरहेको छ । अहिले बल्लतल्ल केन्द्रीय सरकारले भुत्तानीका लागि भरतपुर महानगरपालिकालाई पत्र लेखेको थियो । यद्यपि, महानगरपालिकाले कानुनी बाधा परेकाले संघीय सरकारले १५ करोड बजेट विनियोजन गरे पनि कानुनी व्यवधान आउँदा भुक्तानी गर्न नसकेको बताइरहेको छ । सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छु्ट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐन बमोजिम मात्र खर्च गर्न पाइने व्यवस्था छ । तत्कालीन समयमा काम भइसकेको र सो प्रक्रिया फाउण्डेशनले अपनाएको छैन । मूख्य जड यही देखिएको छ ।
नेपालमा पहिलो पटक फ्लड लाइट सहितको पहिलो त्रिवि क्रिकेट रंगशाला बन्दै गर्दा अब हरेक प्रदेशमा एक, एक ठुला रंगशाला आवश्यक देखिएको छ । यसका लागि पनि रंगशाला निर्माण गर्नै पर्नेछ । जुन काम केही वर्ष अगाडि नै धुर्मुस सुन्तली फाउण्डेशनले महाभूकम्प लगायतका विपत्तिमा नमुना वस्ती निर्माणमा आएको रकम प्रयोगका लागि क्रिकेट रंगशाला रोजे । यो आफैमा खराब थिएन । बरु यति बृहत आयोजना निजी प्रयासबाट सम्भव हुन्छ कि हुँदैन ? भन्नेमा उनीहरुबाट यथोचित अध्ययन बिश्लेषण नभएकै हो । भावनात्मक हिसाबले जे जसरी अघि बढे, त्यसको गम्भीर असर र क्षति अहिले धुर्मुस जोडीले भोगिरहेका छन् । कलाकारिता र रंगशाला निर्माणकै बेला चौतर्फी प्रशंसा र भगवान जस्तो वाहवाही बनाइएका धुर्मुस सुन्तली सर्वत्र गाली र आलोचनाबाट करिब करिब डिप्रेशनकै अवस्थामा पुगेका छन् । अब यो समस्या राज्य र यसका निकायले बल्झाइरहने होइन, चुस्त ढंगले भोलिका दिनमा कसैलाई पनि अप्ठ्यारो र कानुनी उल्झनमा नफस्ने गरी समाधान गरिनु पर्छ । किनकि यो आफैमा जटिल बनिरहेको छ । तसर्थ, सुझबुझपूर्ण हिसाबले रंगशालाको बाँकी कार्य राज्यले पुरा गर्ने गरी दिनुपर्ने भुक्तानी दिनुपर्दछ । धुर्मुस, सुन्तलीहरु अब हसाउँदा हसाउँदै आफै हाँस्न बिर्सिने दुर्दान्त अवस्थाबाट मुक्त हुनुपर्छ । रंगीन दुनियाँमा बाँच्दा बाँच्दै ज्युँदै पल पलमा मर्नु पर्ने बाध्यतामा कसैले पनि मजाक र नजर अन्दाज गर्नु हुँदैन । सरकार हुनुको सरकारले समयमै आभाष दिलाउनु पर्छ ।
